Logo

मुख्य समाचार

नेपाल–बंगलादेश विद्युत् बिक्री सम्झौता



काठमाडौं ।  नेपाल र बंगलादेशबीच भएको विद्युत् बिक्री सम्झौता (पीएसए) नेपालको ऊर्जा क्षेत्रमा ऐतिहासिक रहेको छ । 

बंगलादेश सरकारले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट आयात गर्ने लक्ष्य राखेको र नेपालले आगामी १० वर्षभित्र पाँच हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ । लक्ष्य कार्यान्वयन गर्न सकेमा यसले नेपाल र बंगलादेशबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि उल्लेखनीय योगदान पुग्ने इप्पानको भनाइ छ ।

नेपालमा विद्युत् उत्पादन भएको ११३ वर्ष पुगेको छ । हालसम्म करिब ३२०० मेगावाट विद्युत् उत्पादन क्षमता पुगेकोमा २५५० मेगावाट अर्थात् ८० प्रतिशत निजी क्षेत्रबाट उत्पादन भइरहेको छ । हाल निजी क्षेत्रका चार हजार मेगावाट बराबरका आयोजना निर्माणाधीन अवस्थामा छन् भने १४ हजार मेगावाट बराबरका आयोजना निर्माणमा जान लागेका छन् ।

दुई देशको सरकार र निजी क्षेत्रबीचमा ऊर्जा विकास र विस्तारका लागि सहकार्य, साझेदारी र लगानी आदानप्रदानका लागि बाटो खुलेको इप्पानको भनाइ छ ।

सम्झौतासँगै अब नेपाल विद्युत् प्राधिकरणले रोकिराखेको विद्युत् खरिद सम्झौता (पीपीए)को पूर्ण रूपमा खुला  गर्न पनि इप्पानले माग गरेको छ । भारत र बंगलादेशमा लक्ष्य अनुसारको निर्यातका लागि तत्काल नीतिगत र प्रक्रियागत सुधारका लागि पनि सरकारसँग इप्पानले आग्रह गरेको छ ।

ती आयोजनामा लगानीसँगै निर्माण, परामर्शदाता, इक्वेपमेन्ट आपूर्ति लगायतका अवसर पनि छन् । यी अवसरमा बंगलादेश र नेपालका निजी क्षेत्रले सहकार्य र साझेदारी गर्ने सम्भावना धेरै छ । 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  २ : ४६ बजे