Logo

मुख्य समाचार

संविधान मिच्ने जोकोहीको विरोध गर्नु हाम्रो धर्म हो : अध्यक्ष घिमिरे


११ आश्विन २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधान मिच्ने काम ‘सानो प्यूसो’ वा प्रधानन्यायाधीश जसले गरेपनि त्यसको विरोध गर्नु आफूहरुको धर्म भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपालको पहिलो डिजिटल बार उदघाटन तथा २०८१ सालको विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४४, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बारले आफ्नो काम एकइन्च पनि गल्ती नगरी निर्वाह गरिरहेको भन्दै बारको शिर झुकाउने काम कहिले पनि नगर्ने बताए ।

उनले भने, ‘संविधान मिच्ने काम चाहे कुनै सानो प्युसोले गरोस वा प्रधानन्यायाधीश गरोस त्यसको विरोध गर्नु बारको धर्म हो । त्यो धर्म एक इन्च पनि गल्ती नगरिकन निर्वाह गरिरहेका छौ । कर्तव्य निर्वाह गरिरहेका छौ । बारको शिर झुक्ने एउटा पनि काम नेपाल बार एसोसिएसनले गरेको छैन् । हामी न्यायाधीश माग्न गएनौ, मुद्दा मिलाउन गएनौं । अघिल्लो ढोकाबाट विरोध गरेजस्तो गरेर पछाडि ढोकाबाट पनि गएनौ । बारको शिर एक तहले उठेको छ । झुकाउने काम गरेका छैनौ ।’

यसको साथै, उनले २०८१ साल जेठबाट चारवटा सिट खाली हुँदा वास्ता नगरेको र अहिले घर जाने केही दिन अगाडि भने प्रधानन्यायाधीश नियुक्त गर्न लागेको भन्दै आशंका लागेर बारको ऐजेण्डा अनुसार विरोध गरेको बताए ।

उनले भने, ‘मैले प्रधानन्यायाधीशलाई चुनौतीको भाषामा भनेको छु । प्रधानन्यायाधीश तपाई संविधानको व्याख्या गर्नुपर्यो भने पनि गर्न सक्ने निकाय हो । तपाईले आफ्नो अनुकुल नै व्याख्या गर्नुहुन्छ । तपाईँप्रति विश्वास पनि रहेन । घर जादैँ हुनुहुन्छ, नयाँ प्रधानन्यायाधीश नियुक्त गर्दै हुनुहुन्छ । हामी प्रधानन्यायाधीश नियुक्तिको विरोधी बन्न खोजेको होइन् । २०८१ साल जेठबाट चारवटा सिट खाली हुँदा तपाइँ के हेरेर बस्नुभयो ? अहिले घर जाने केही दिन अगाडि भने प्रधानन्यायाधीश त नियुक्त गर्दै हुनुहुन्छ, आशंका लागेर बारको ऐजेण्डा अनुसार मात्र काम गरिरहेका छौ ।’

संवैधानिक तरिकाले सक्षम प्रधानन्यायाधीश नियुक्त गर्नु नै बारको माग रहेको र सोही माग अनुसार विरोधमा रहको पनि उनको भनाई छ ।

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दवाद दिँदै आइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ५ : ०३ बजे