Logo

मुख्य समाचार

धरहरा खुला गरिएपछि सर्वसाधारणको भीड



काठमाडौं । सर्वसाधारणको लागि आज(विहीबार)देखि धरहरा खुला गरिएको छ ।

बिहीबार संविधान दिवसको अवसर पारेर शहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा धरहरा खुलाएको हो ।

धरहरा सरकारले गठन आदेश नबनाउञ्जेलसम्म भने निःशुल्क चढ्न पाउने व्यवस्था मिलाइएको छ । बिहानैदेखि धरहरा चढ्नका लागि सर्वसाधारणको भीड लागेको छ ।

हरेक दिन बिहान साढे १० देखि दिउँसो साढे ४ बजेसम्म सर्वसाधारणले धरहरा चढ्न पाउनेछन्। त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको वेबसाइट धरहरा डटजीओभीडटएनपीमा गएर बुकिङ गर्न सकिनेछ ।

धरहरा चढ्न अघिल्लो दिन नै बुकिङ गर्नुपर्नेछ । तर अनलाइन बुकिङ सुरु नहुँदासम्म कुपनमार्फत धरहरा चढ्ने व्यवस्था गरिएको छ ।

परिवारमा आमा–बुबा, छोरा–छोरीसहित चार जनासम्मले एकै पटकमा अनलाइन बुकिङ गर्न सक्नेछन् । धरहरा डटकम डट जिओभी डट एनपी नामक वेबसाइटमार्फत बुकिङ गर्न सकिन्छ ।

सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जिआइटिसी रमन कन्स्ट्रक्सन जोइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिएको थियो । विसं २०७२ फागुन ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘मेरो धरहरा, मै बनाउछु’भन्ने अभियान सुरु गरिएको थियो ।

विसं २०७५ असोज १४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु गरिएको थियो । विसं २०७८ वैशाख ११ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उदघाटन गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ४ : ५८ बजे