Logo

मुख्य समाचार

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्र सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सञ्चार क्षेत्र सबै पुरानो कानूनले चलिरहेको भन्दै सबैभन्दा संवेदनशिल क्षेत्र भएर पनि राज्यको ध्यान नगएको बताएका हुन् ।

उनले भने, ‘सञ्चार क्षेत्र जटिल छ, यो क्षेत्र आफैंमा संवेदनशिल छ । अहिलेसम्म यो क्षेत्रमा केही भएको छैन भन्ने हो भने यो अवस्थासम्म आइसकेका छौं । सबैजनाले काम गर्नु भएकै छ । तर सार रुपले भन्ने हो भने भएको केही पनि छैन । सबै पुरानो कानूनले चलिरहेका छन् । नयाँ नीति, कानून केही छैन । मुलुकमा गणतन्त्र आइसक्यो, तर कानूनमा केही पनि परिवर्तन छैन । यो सबैभन्दा संवेदनशिल क्षेत्र हो तर सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र पनि हो । अब यसको सुधार गर्नुपर्छ ।’

यस्तै, उनले यो वर्ष हुलाकको राष्ट्रिय नीति बनाउने भन्दै हुलाकको विषयमा नीतिगत रुपमा फड्को मार्ने बताए ।

उनले भने, ‘यो वर्ष हुलाकको राष्ट्रिय नीति बनाउने, पहिला पनि थियो होला त्यसलाई सुधार गरेर नयाँ ल्याउने । नीति भएपछि मात्र त्यसको आधारमा कानून बन्छ । यो वर्षभित्र सबै नीतिका काम सकिन्छ । हुलाकको विषयमा नीतिगत रुपमा फड्को मार्ने काम गर्छौँ।’

साथै, उनले नीतिगत, कानून, बजेट, जनशक्ति लगायको समस्या कहाँ छ भनेर सबै पहिल्याएर  समाधान गर्नुपर्ने भन्दै यो वर्षभित्र सबै कुराको समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : २८ बजे