Logo

मुख्य समाचार

टानको निर्वाचनः पाण्डे टीमले सार्वजनिक गर्यो २२ बुँदे एजेण्डा



काठमाडौं । ट्रेकिङ एजेन्सीज  एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनका लागि सागर पाण्डे नेतृत्वको व्यावसायिक एवं साझा प्यानलले आफ्ना एजेण्डाहरू सार्वजनिक गरेको छ ।

यहीँ भदौ १७ गते सम्पन्न हुन गइरहेको (टान) को निर्वाचनका लागि पाण्डे नेतृत्वको प्यानलले २२ बुँदे एजेण्डाहरू सार्वजनिक गरेको हो ।

जसमा दान अक्षयकोषको स्थापना गरिनुका साथै पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहलकदमी गरिने एजेण्डा रहेको छ । साथै पाण्डे नेतृत्वको व्यावसायिक एवं साझा प्यानलले ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने समेत एजेण्डा छ ।  यसैगरी  टिमको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने समेत एजेण्डामा उल्लेख गरिएको  छ ।

यस्तै नियन्त्रित पदमार्गको अनुमति सहजीकरण गरिने, कर सम्बन्धी समस्या समाधान गरिनुका साथै पर्यटक सवारी साधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरि कार्यान्वयन गराइने एजेण्डा रहेको छ । वैकल्पिक पदयात्रा मार्गको डीपीआर तयार गरिनेसमेत जनाइएको छ । साथै पदमार्गको प्रचार प्रसारलाई प्राथमिकता दिइने एजेण्डा छ ।

यस्तै पाण्डे नेतृत्वको प्यानलले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिक रुपमा उठान गरिने जनाएको छ । पर्यटन ऐनलाई समय सापेक्ष बनाइनुका साथै  एक्सपेरियन्सल दुरिजमको विकास गरिनेसमेत जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्सहरू सञ्चालन गरिने समेत एजेण्डा रहेको छ । नेपाल एयरलाइन्सको व्यवस्थापनलाई पुनर्संरचना गर्न पहल गरिने र  एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन (एटीटीए) जस्ता संस्थाहरुसँग सहकार्य गर्ने समेत एजेण्डा सार्वजनिक गरेको छ ।

यस्तै पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गरिने तथा पर्यटन सम्बद्ध अन्य संघ संस्थासँग सहकार्य गरिने जनाइएको छ । साथै पर्यटन विकासका लागि नेपाल सरकारका निकायहरूसँग सहकार्य गरिने एजेण्डामा उल्लेख गरिएको छ ।

कानूनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना गरिने र पर्यटन बोर्डमा पर्यटन संघ संस्थाबाट प्रतिनिधित्व हुने व्यवस्था गरिने एजेण्डा छ ।

साथै  पाण्डे नेतृत्वको व्यावसायिक एवं साझा प्यानलले टानको विधान संसोधन गरिनुका साथै  टान नेतृत्वका हाल सञ्चालनमा रहेका प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिइने एजेण्डाहरू सार्वजनिक गरेको  छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ११ : ५३ बजे