Logo

मुख्य समाचार

गुडिरहेको माइक्रोबसमा ढुंगा खस्दा दुईजना घाइते



भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुंगा खस्दा दुईजना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुंगा खस्दा देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार घाइते भएका हुन् । दुवैजना सोही माइक्रोबसका यात्रु हुन् ।

घाइते दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनीहरुको अवस्था सामान्य छ ।

माथिबाट ढुंगा खसेर माइक्रोबसमा समेत क्षति पुगेको छ । उक्त सडकखण्डमा वर्षाको समयमा पटकपटक पहिरो जाँदा सडक अवरुद्ध हुनुका साथै मानवीय क्षति हुँदै आएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  २ : ०८ बजे