काठमाण्डाै । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सभापति बाहेकका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना बुधवारबाट शुरू हुँदैछ ।
सभापतिका लागि मंगलवार भएको मतगणनाको नजिता मध्यरातमा सकिएलगत्तै अब पदाधिकारीको मतगणना शुरू हुन लागेको हो ।
पदाधिकारीमध्ये पनि महामन्त्रीको मतगणनालाई सर्वाधिक चासोका साथ हेरिएको छ ।
महामन्त्रीका लागि चर्चित युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल तथा रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र सह–महामन्त्री डा. प्रकाशशरण महत प्रतिस्पर्धामा छन् । सभापतिको पहिलो राउन्डबाट बाहिरिएका विमलेन्द्र निधिको तर्फबाट डा. राजाराम कार्कीले पनि महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।
सभापतिमा संस्थापन पक्षका शेरबहादुर देउवा विजयी भएका छन् । तर संस्थापन इतरका नेता डा. शेखर कोइरालाले पनि राम्रो मत पाए । महामन्त्रीमा संस्थापन इतर समूहका गगन थापा बलियो उम्मेदवार हुन् ।
सभापतिका सबै उम्मेदवारको तानातानमा परेका गगन थापा विजयी हुने महाधिवेशन प्रतिनिधिको आकलन छ । स्वयं गगनले पनि कतिपय प्रतिनिधिले ‘अन्य पदमा जता भोट हाले पनि एउटा भोट तपाईंलाई दिन्छौं’ भनेको लोकान्तरसँग बताएका थिए ।
विगतमा संस्थापन समूहकै भनिने र अहिले प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका विश्वप्रकाशले पनि राम्रै भोट पाउने आकलन गरिएको छ ।
उपसभापतिमा पनि संस्थापन पक्षबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का तथा संस्थापन इतर समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङबीचको प्रतिस्पर्धालाई पनि रोचक ढंगले हेरिएको छ ।
८ सहमहामन्त्रीमा पनि तीव्र प्रतिष्पर्धा हुने आकलन गरिएको छ ।
प्रतिक्रिया