Logo

मुख्य समाचार

टुकुचामाथि सडक भ्वाङ परेपछि बालेनले भने– खोलामाथि अझै केही घर छन्


२५ श्रावण २०८१, शुक्रबार  

69
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानुन बमोजिम लगत कट्टा गर्नका लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकिएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले सो कुराको जानकारी दिएक छन् ।

उनले टुकुचा खोलामाथि अझै केही घरहरु रहेको बताउँदै सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

शाहले सो वातावरण बनाएलगत्तै खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउने समेत बताएका छन् । गएराति काठमाडौँ प्लाजा नजिकको टुकुचा खोलामाथिको सडकमा भ्वाङ परेपछि सो सडकमा सवारी साधनकाे आवातजावत रोकिएको छ ।

शुक्रबार टुकुचा खोलामाथिको सडक भ्वाङ परेको भिडियो सेयर गर्दै उनले भनेका छन्-

‘यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । ‘काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ । यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १ : ३२ बजे