Logo

मुख्य समाचार

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध



जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पुर्याएपछि राजमार्ग अवरुद्ध भएको हो ।

शुभकालिका–१ स्थित गगनलेखोला, एसमोड, कालेखोलालगायत विभिन्न स्थानमा सानाठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

आज बिहानदेखि राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज, काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन् ।

गगनेखोलामा ठूलो ढुंगासहितको लेदो माटोको पहिरो आउँदा सडक अवरुद्ध भएको छ । बिहानदेखि पहिरो पन्छाउने कार्य जारी रहेको सूचना अधिकारी जिटीले बताए ।

“सबैभन्दा ठूलो ढुंगासहितको पहिरो गगनेखोलामा आएको छ । चार–पाँच किमीको दूरीमा अन्य स्थानमा पनि पहिरो गएको जानकारीमा अएको छ । गगनेखोलाको ढुंगा पन्छाउने र सम्भव नभए ‘ब्रेकर’ लगाएर फुटाउने तयारी छ”, उनले भने ।

गगनेखोलाबाहेक अन्य स्थानमा गाह्रो नभएको र पहिरो पन्छाउने कार्य सकिएपछि सडक सञ्चालनमा आउने सडक डिभिजन कार्यालयले जनाएको छ ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजनको मेसिनसहित जनशक्ति बिहानदेखि पहिरो पन्छाउने काममा लागिरहेकाे छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : ४० बजे