Logo

मुख्य समाचार

विद्युत् प्राधिकरणका कर्मचारी कुटिए



संखुवासभा । नेपाल विद्युत् प्राधिकरणको संखुवासभा शाखा कार्यालय मादीका इन्चार्जसहित दुई कर्मचारी कुटिएका छन् ।

विद्युत् महसुल नतिरेपछि लाइन काटिएको र त्यो जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट गरिएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार, इन्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटिएका हुन् ।

कुटपिटको आरोपमा मादी नगरपालिका–४, ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बूविरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दर्ता गरिएको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए । “निजहरूविरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको छ । उजुरीलगत्तै उहाँहरू फरार भएकाले खोजीकार्य भइरहेको छ,” उनले भने ।

विद्युत् महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गालीगलौज, हातपात र कुटपिट गरिएको थियो । स्थानीय लिङ्थेपको क्रसर उद्योगले ६ लाख ४० रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताए । कर्मचारीमाथि कुटपिटपछि मादीस्थित शाखा कार्यालय साउन १५ देखि बन्द छ ।

उक्त कार्यालयमा ६ कर्मचारी कार्यरत छन् । शाखा कार्यालय बन्द गरिँदा सेवाग्राही मारमा परेका छन् । कुटपिटपछि कर्मचारी त्रासमा छन् । कार्यालय बन्द गरेर उनीहरू सदरमुकाम आएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ५ : १८ बजे