Logo

मुख्य समाचार

प्रिजा खतिवडा ‘पार्टटाइम’ जागिरे‚ हेरचाह गर्ने कोही नभएकाले बच्चा लगियो : पर्यटनमन्त्री



काठमाडौं । यही साउन ९ गते भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे सरकारले संसद्लाई जानकारी गराएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा समय लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विमान दुर्घटनाबारे जानकारी गराएका हुन् ।

उक्त दिन काठमाडौंबाट पोखराका निम्ति नियमित ‘सी चेक’ उडानका क्रममा सौर्यको ‘सीआरजे–२००, ९एन–एएमई’ विमान दुर्घटनामा परेको मन्त्री पाण्डेले बताए ।

१९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ बाट उड्दा सामान्य अवस्थामा बायाँ मोडिँदै पश्चिमतिर उड्नुपर्ने थियो । तर, विमान उड्नेबित्तिकै धावनमार्गबाट दाहिने मोडिन गई विमानस्थलको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको उनले जानकारी गराए ।

“सो दुर्घटनामा परी १८ जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त उडानका क्याप्टेन गम्भीर घाइते भई हाल काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । हाल उहाँको अवस्था खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकबाट प्राप्त भएको छ‚” उनले भने ।

विदेशी यमनी नागरिकबाहेक मृतकका परिवारले शव बुझिसकेको उनले बताए । उनले यमनी नागरिकको शव व्यवस्थापनका निम्ति नेपालमा यमनको दूतावास नभएकाले यमनको दूतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको जानकारी गराए । शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सबाट प्राप्त भइसकेको उनको भनाइ थियो ।

सोही दिन बेलुका बसेको मन्त्रिपरिषद्को बैठकबाट पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको उनले जानकारी गराए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स १३ को प्रावधान तथा गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को व्यवस्थाबमोजिम कार्य सुरु भइसकेको उनले बताए ।

“आयोगले दुर्घटनास्थलको स्थलगत निरीक्षण गरेको तथा ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर संकलन गरी डाटा रिडआउट, डाउन एन्ड एनालाइसिसको लागि तयारी गरिरहेको छ‚” उनले भने ।

मन्त्री पाण्डेले सी चेक उडानका क्रममा भएको दुर्घटनाको बिमा व्यवस्था सम्बन्धित वायुसेवा संस्थाले खरिद गरेको बिमा नीतिअनुसार नै हुने भन्दै थपे‚ “सौर्य एयरलाइन्स प्रालिको दुर्घटनासम्बन्धी एभिएसन हल एन्ड स्पेयर्स अल रिक्स‚ एभिएसन लाइविलिटी, पर्सनल एक्सिडेन्ट एन्ड हल वार इन्स्योरेन्स प्रालिमा रहेको छ । यस इन्स्योरेन्स पोलिसीका अतिरिक्त एयरलाइन्सबाट सात लाख रुपैयाँबराबरको सामाजिक सुरक्षा कोष समेत बिमा रहेको जानकारी प्राप्त भएको छ ।”

उनले दुर्घटनामा मृत्यु भएका प्राविधिक मनुराज शर्माकी श्रीमती प्रिजा खतिवडा (ऊर्जा मन्त्रालयको कम्प्युटर अपरेटर) सौर्य एयरलाइन्समा ‘पार्टटाइम’ अपरेटरका रूपमा कार्यरत रहेको जानकारी सौर्य एयरलाइन्सबाट प्राप्त भएको बताए । उनीहरूका छोरा (बालक अधिराज शर्मा)को काठमाडौंमा हेरचाह गर्ने कोही नभएकाले आमाबुवासँगै लगिएको मन्त्री पाण्डेको भनाइ थियो ।

उनले सौर्य एयरलाइन्सबाट मृतकका परिवारलाई थप सुविधा व्यवस्था गर्न मन्त्रालयमा उक्त कम्पनीका अध्यक्षसँग छलफल गरिएको बताए । सौर्य एयरलाइन्सका तर्फबाट परिवारका सदस्यलाई दक्षता र योग्यताबमोजिमको रोजगारीको प्रतिबद्धता गरिएको पनि उनले सदनलाई जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ५ : ०० बजे