Logo

मुख्य समाचार

गैरनाफामूलक संघसंस्थाहरूको सम्पत्ति शुद्धीकरणका लागि निर्देशिका बनाइने


४ श्रावण २०८१, शुक्रबार  

69
Shares

ललितपुर । समाज कल्याण परिषद्ले संघसंस्थाहरूको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न निर्देशिका तर्जुमा गर्ने निणर्य गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका नवनियुक्तमन्त्री तथा परिषद्का अध्यक्ष नवलकिशोर साह सुडीले शुक्रबार परिषद्मा पदभार ग्रहण गर्दै उक्त निणर्यमा हस्ताक्षर गरेका हुन् ।

परिषदमा आबद्ध भएका गैर नाफामूलक संघसंस्थाहरूको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका तर्जुमा गर्न आवश्यक देखिएकोले सो निर्देशिका तयार गर्न प्रक्रिया अगाडि बढाउने निणर्य गरिएको हो । यसैगरी मन्त्री सुडीले सातै प्रदेशमा परिषद्को कार्यालय स्थापना गर्नका निम्ति प्रक्रिया अगाडि बढाउने निणर्यमा समेत हस्ताक्षर गरेका छन् ।

त्यस अवसरमा बोल्दै मन्त्री सुडीले सम्पूर्ण कर्मचारीले सहयोग नगरेमा कुनैपनि सरकार वा मन्त्री सफल हुन नसक्ने बताउँदै सबैले एकमना एकताका साथ काम गर्न आवश्यक रहेको बताए । कतिपय सरकारको आयु कम हुँदा पनि समस्या उत्पन्न भएको भन्दै उनले यसपटक केही लामो समय काम गर्न सकिने अवस्था रहेको बताए ।

प्रदेश सरकारमा पाँच वर्ष सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेको भन्दै उनले संघको मन्त्रालयको नेतृत्व गर्दै गर्दा आफ्नो तर्फबाट मन्त्रालय र परिषद्लाई राम्रो बनाउनका निम्ति आफूले ध्यान दिने बताए । समस्या सबैतिर भएपनि सबै समस्याको समाधान प्रेमपूर्वक गर्नुपर्ने बताए ।

यसैगरी मन्त्री तथा परिषद्का अध्यक्ष सुदीको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै परिषद्का उपाध्यक्ष नन्दलाल माझीले मन्त्रीको पूणर् कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

यसैगरी परिषद्का कोषाध्यक्ष विनय लामाले परिषद्लाई राम्रो बनाउनका निम्ति कम्तीमा पनि दुईवर्षसम्म मन्त्रालयमा रहेर काम गर्ने वातावरण सिर्जना हुन सकेमा राम्रो हुने बताए । परिषद्को आन्तरिक सुशासन कायम गर्न कतिपय काम गर्नुपर्ने बताए ।

यसैगरी परिषद्का सदस्य सचिव मनोज भट्टले गैरसरकारी संस्थाहरूले ल्याएको रकम परिषद्ले स्वीकृत गरेपछि राष्ट्र बैंकले उनीहरूको खातामा रकम पठाउने व्यवस्था भएपनि कतिपयले परिषद्ले यी कुरा नबुझेर गलत कुरा फैलाउने अवस्था पनि रहेको बताए । परिषद्ले अनुगमन, मूल्याङ्कन गर्ने बताउँदै उहाँले यी कुरा सबैलाई बुझाउन आवश्यक रहेको बताए ।

परिषद्सँग स्रोत, जग्गा सबै भएपनि आफ्नै भवन नहुँदा दैनिक कामकाज सञ्चालन गर्न कठिनाइ भएको बताए ।

यसैगरी परिषद्का आर्थिक प्रशासन विभागीय प्रमुख सञ्जय मल्लिक, परिषद् कर्मचारी संघका अध्यक्ष प्रकाशचन्द्र भट्ट, परिषद् कर्मचारी संगठनका अध्यक्ष बिकुल आचार्यले मन्त्री तथा परिषद्का अध्यक्ष सुदीको कार्यकाल सफलताको कामना गर्दै परिषद्मा लामो समयदेखि कर्मचारीहरूको वृत्ति विकास रोकिएकोले ती कुरामा पनि ध्यान दिन आवश्यक रहेको बताए ।

परिषद्का उपाध्यक्ष नन्दलाल माझीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण परिषद्का योजना तथा कार्यक्रम विभागीय प्रमुख रामराज भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ३ : ३० बजे