Logo

मुख्य समाचार

एक-अर्कोसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्ति रोक्न एमालेसँग मिल्यौं : महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशका समस्या सम्बोधनका लागि कांग्रेस र नेकपा एमाले एक भएको बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मी उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठीक दिशामा नलैजाने भएकाले कांग्रेस-एमाले मिल्नुपरेको प्रष्ट्याए ।

प्रचण्ड सरकारले प्रतिवद्धता एउटा र काम अर्को गर्ने गरेको भन्दै महतले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताए । संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएको उनको भनाइ छ ।

महतले भने, ‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठीक बाटोमा लगेन । आम जनतालाई पनि विश्वास दिन सकेन । कुरा धेरै भए, काम उल्टो भयो । त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठूला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ ।’

सबैलाई मान्य हुनेगरी मन्त्रालयको बाँडफाँट हुने महतको दाबी छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ३ : ५६ बजे