Logo

मधेश प्रदेश

मधेशका मुख्यमन्त्री सिंहको दाबी: बजेटमा कर्मचारीले गडबड गरे, अनुसन्धान गर्दैछौं



जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा कर्मचारीले गडबड गरेको दाबी गरेका छन् ।

जनकपुरधाममा समाजवादी प्रेस संगठन नेपालद्वारा आयोजित ‘समाजवाद र प्रेस स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीले खेल गरेको र त्यस विषयमा छानबिन गरिरहेको बताए ।

यही जेठ २५ गते जनमतका सिंहको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको थियो । त्यसको ८ दिनमा मधेश सरकारले आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएको छ ।

मुख्यमन्त्री सिंहले भने, ‘सरकार बनेको ८ दिनमै बजेट ल्याएँ । म भन्न चाहन्छु- नेतामात्र परिवर्तन भयो, बनेको बजेटमा कर्मचारीले खेल गरे । धेरै बजेट यताउता भयो । यसबारे आन्तरिक छानबिन गरिरहेका छौं ।’

उनले बजेटमा कर्मचारीले गडबड गरेको विषयमा छानबिन गरेर त्यसको उजागर गर्ने बताए ।

मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकार ‘मिडिया फ्रेन्डली’ भएको दाबी गरे । उनले लोककल्याणकारी विज्ञापन, पत्रकारको बीमा र खोजपत्रकारिताका लागि बजेट विनियोजन गरेको बताए ।

उनले भने, ‘मिडियाका लागि अहिले विनियोजन गरेको बजेट कम रहेको कुरा आएको छ ‌। थप बजेट पनि उपलब्ध गराउने विश्वास दिलाउन चाहन्छु ‌।’

उनले आर्थिक वर्षको अन्तिममा काम गर्ने प्रवृत्ति अन्त्य गर्ने पनि बताए ।

‘अब विगत जस्तो आर्थिक वर्षको अन्तिममा काम हुंदैन् । आर्थिक वर्ष सुरु भएलगत्तै काम थाल्छौं ।’

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १२ : २८ बजे