Logo

मुख्य समाचार

मानव बेचबिखन तथा ओसारपसार ऐन छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौँ : मन्त्री चौधरी


२५ जेष्ठ २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्ने बताएकी छन् ।

महिला कानुन र विकास मञ्च (एफडब्ल्यूएलडी)ले नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी उपलेख (पार्लेमो) प्रोटोकल अनुमोदन गरेको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा शुक्रबार त्यस्तो बताएकी हुन् ।

नेपालले पार्लेमो प्रोटोकलमा हस्ताक्षर गरिसकेपछि अहिले कानुन निर्माणको चरणमा रहेको बताइन् । “मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ संशोधन गर्न सिफारिस गरिएको छ । त्यसलाई प्रक्रिया पूरा गरेर छिट्टै ऐन जारी गर्छौँ । ऐन छिट्टै ल्याउन थप सक्रिय भएर काम गर्छौँ,” उनले भनिन्, “अहिले राय लिनका निम्ति मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन–२०६४ कानुन मन्त्रालयमा गएको छ । हामीले त्यसलाई फलोअप गर्दै आएका छौँ । कानुनबाट अगाडि बढेपछि अर्थ मन्त्रालयको राय लिएर ऐन संशोधनका लागि छिट्टै अगाडि बढ्छ ।”

नेपालले सन् २०२० जुन १६ मा पार्लेमो प्रोटोकलमा हस्ताक्षर गरेको थियो । पार्लेमो प्रोटोकल अनुमोदन गरिसकेपछि ९ वटा कानुन बनाउनुपर्ने उनले बताइन् । त्यसमध्ये पनि प्रमुख कानुन नै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी नै भएकोले ऐन संशोधन प्रक्रियालाई छिट्टै अगाडि बढाइने उनको भनाइ छ । खाडी मुलुकका केही देशमा यो समस्या बढी रहेको भन्दै ती देशमा राज्यले प्रहरी डेस्क स्थापना गर्न सकेमा मानव बेचबिखन नियन्त्रण गर्न सहज हुने बताइन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ३ : ३३ बजे