Logo

मुख्य समाचार

सिरोहियालाई प्रतिशोधपूर्ण गिरफ्तारी गरियो, उहाँको नागरिकता किर्ते हुँदै होईन : विमलेन्द्र निधि



काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण गिरफ्तारी गरिएको बताएका छन् ।

आज (बिहिबार) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै उनले सिरोहिया बोनाफाइड नेपाली नागरिक रहेको बताए । उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको समाचार लेखेको कारण सिरोहियालाई पक्राउ गरिएको उनले बताए ।

साथै, आफूहरु सिरोहियाको साथमा र गिरफ्तारीको विरुद्धमा रहेको उनले बताए । सिरोहियाको नागरिकता विवादमा पञ्चायती व्यवस्थादेखि अहिलेसम्म पटक–पटक नागरिकता ऐन संशोधन भएको कारण केही कानुनी र व्यवस्थापकीय त्रुटि देखिएको हुनसक्ने उनको भनाइ छ ।

साथै, उनले उपप्रधान एवं गृहमन्त्री लामिछानेले दोहोरो नागरिकता लिँदा पनि सफाइ पाएको प्रसंग उल्लेख गर्दै प्रतिशोधपूर्ण गिरफ्तारी नै रहेको जिकिर गरे । आफू सिरोहियालाई भेट्नकै लागि काठमाडौंदेखि जनकपुर आएको पनि उनले सुनाए ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ३ : ०४ बजे