Logo

मुख्य समाचार

विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी : एमालेले आज नदिने, कांग्रेसले अवरोध गर्ने


२१ बैशाख २०८१, शुक्रबार  

92
Shares

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। उनले विश्वासको मत लिनका लागि बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए।

नेकपा (एकीकृत समाजवादी) का नेता सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिका अध्यक्ष पक्षका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र सदस्यको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नागरिक उन्मुक्ति पार्टीका सात प्रदेश सभा सदस्य रहे पनि सो पार्टीको आन्तरिक किचलोका कारण दुई जनाले मात्रै मुख्यमन्त्रीलाई समर्थन गरेका छन् ।

उनलाई समर्थन गरेका नागरिक उन्मुक्तिका कैलाश चौधरी र टीका थापा दुवै जना मन्त्री नियुक्त भइसकेका छन्। मुख्यमन्त्रीले गएको मङ्गलबार नागरिक उन्मुक्ति पार्टीबाट थप एक मन्त्री थपे पनि सरकारले अझै पूर्णता पाइसकेको छैन । आज विश्वासको मत लिन लागेका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन रेशम चौधरी पक्षले ह्वीप जारी गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् । नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसदहरू विभाजित छन् । रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद छन् ।

नेकपा (एमाले)ले भने हालसम्म विश्वासको मत दिने कुनै निर्णय नभएको तर मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने तयारी रहेको जनाएको छ । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाई जेठ ५ गते सम्मको समय छ । एमालेले अझै समय बाँकी रहेको हुँदा हतार नगर्न मुख्यमन्त्रीलाई सुझाब दिएको छ ।

बझाङमा भएको उपनिर्वाचनमा एमालेको जितले मुख्यमन्त्री सोडारीको पक्षमा सहज रूपमा बहुमत पुगेपनि बझाङबाट निर्वाचित दमन भण्डारीले पनि अझै शपथ लिएका छैनन् । एमालेले उनको सपथ ग्रहण पछि मात्रै विश्वासको मतको विषयमा छलफल हुने बताएको छ ।

विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी रहेको जनाइएको छ । यस प्रदेशमा बहुमत प्राप्त गर्नका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १२ : ०० बजे