Logo

विशेष

मिस पवीको अनुभव : टिकटकबाट भोट माग्दा पानीको धारा काटिदिए



काठमाडौं । २०७८ सालतिर संसार कोरोना महामारीको सामना गर्दै थियो । अचानक आएको नौलो महामारीका कारण शिक्षादेखि कलासम्म सबै क्षेत्र अस्तव्यस्त थिए ।

विद्यालयमा बिदा भएपछि डडेलधुराकी मिस पवी अर्थात पवित्रा साकीको दैनिकी थियो-बिहान उठ्ने, खाना खाएर गाईबाख्रा लिएर गोठालो जाने ।’ फर्किएर आमालाई घाँसदाउरा गर्न सघाउने ।’

कामसँगै पवी सामाजिक सञ्जालमा पनि अभ्यस्त थिइन । फेसबुक, टिकटक खुबै चहार्थिन । अरुको भिडियो र फोटो देखेर आफू पनि त्यस्तै बन्ने परिकल्पना गर्थिन् । विस्तारै उनले त्यही सिक्दै गइन । टिकटक एकाउन्ट खोलिन र भिडियो अपलोड गर्न थालिन् ।

प्रयोगकर्ता सबैले चर्चित कलाकार र सेलिब्रेटीहरुले लिप्सिङ र गीतमा आधारित भएर टिकटकमा भिडियो बनाउँथे । तर गाउँले जीवन बिताइरहेकी पवी गाउँले परिवेश र मौलिकतामा रमाइरहेकी थिइन । त्यसै क्रममा उनले सुदूरपश्चिमको पहाडी जिल्लामा बोलिने ‘ठेट’ डोटेली भाषामा आफैं बोलेर टिकटक बनाउन थालिन् ।

मौलिक डोटेली भाषा र बोल्ने शैली टिकटकमा यति धेरै चर्चित भयो कि उनको गाउँले जीवन विस्तारै फरकतिर मोडियो । टिकटकको भिडियोले कला क्षेत्रका सेलिब्रेटीहरुको मन तान्यो । जसका कारण छोटो समयमै उनी कला क्षेत्रमा प्रवेश गर्ने अवसर पाइन् ।

उनले डोटेली भाषालाई नेपालभर फैलाइनन् नै सुदूरपश्चिमको मौलिक सौन्दर्यलाई पनि लाखौंमाझ परिचित गराइन् । ‘टिकटक स्टार’का रुपमा चिनिएपछि मिस पवीलाई काठमाडौंबाट म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा अफर आउन थालेको सुनाउँछिन ।

‘अहिलेसम्म ४० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छु । केही विज्ञापनमा पनि काम गरिरहेकी छु र ठूलो फिल्मको नि अफर आएको छ,’ उनले भनिन् ।

सपना थियो ‘सेफ’ बन्ने तर मोडियो बाटो
टिकटकमा छाउने मिस पवी अहिले टेलिभिजनको पर्दामा देखिन थालेकी छन् । उनले अभिनय गरेका भिडियोहरु ठूलो पर्दा गुञ्जिन्छन् । ‘ठ्याक्कै कति म्युजिक भिडियोमा काम गरें भनेर काउन्ट गरेको छैन । तर ४० भन्दा बढी त पुग्यो होला,’ उनले भनिन ।

चर्चित हाँस्य टेलिशृंखला ‘मेरी बास्सै’ लगायतका चर्चित धारावाहिक नाटकहरुमा काम गरिसकेको उनले सुनाइन ।

उनको सपना थियो होटल म्यानेजमेन्ट पढेर ‘सेफ’ बन्ने । तर, अहिले त्यो सपना मानसपटलबाट हराएको उनको अनुभव छ । मनोरञ्जनका लागि गाउँबेसी गर्दा टिकटक बनाइरहने उनले एक दिन आफ्नी आमासँग भनिन्, ‘ए मम्मी मेरा त हिट्टा हिट्टा खुट्टा थगिगया भन्या ब..’ उनले आमालाई जिस्क््याउँदै बनाएको टिकटकलाई लाखौंले मन पराइदिए । जसको उत्प्रेरणाले अरु गाउँले परिवेश र लवजमा भिडियोहरु बनाएर अपलोड गर्न थालिन ।

विस्तारै उनी टिकटक स्टारको रुपमा परिचित हुन थालिन । उनलाई काठमाडौंबाट म्युजिक भिडियोका अफर आउन थाले । तर उनलाई गाउँलेहरुसँग लड्नपर्ने चुनौती थपियो । ‘नेपालमा पनि यस्तो भाषा बोलिन्छ र ?,’ ‘कुन ठाउँको भाषा हो नि यो ?’ भनेर कमेन्ट आउथें । उनले बनाउने भिडियोमा उनी सबैलाई रिप्लाई दिन्थिन सुदूरपश्चिमको डोटेली भाषा हो भनेर । सुरुमा टिकटक बनाइरहँदा गाउँका मान्छेहरुले अपाच्य आलोचना गर्ने गरेका थिए । उनले भनिन् ‘सुरु सुरुमा त खुब नराम्रो भन्ने गर्थे । फलानीको छोरी खत्तम भइ, बिग्रिएर सकिए भन्थे । अहिले छोरी होस् त पवी जस्तो होस् भन्छन् । यसो भन्दा गर्र्व लाग्छ ।’

कुनै बेला आफूलाई टिकटकर भन्दा चित्त दुख्ने भएपनि अहिले आफूलाई गर्व गर्छिन् । उनी भन्छिन्, ‘पहिले पहिले मान्छेहरुले टिकटके भन्थे । अनि चित्त दुख्थ्यो । म मात्र टिकटकबाट कला क्षेत्रमा प्रवेश गरेको होइन् नि । अहिले जसरी यो क्षेत्रमा आए एकदमै गर्व लाग्छ ।’

‘सिने क्षेत्रमा थरी थरीका मान्छेहरु भेटिने रहेछन्’
मिस पवीलाई मोबाइलको क्यामरामा टिकटक बनाउनु र ठुला क्यामराको अगाडि अभिनय गर्नुमा खासै फरक लाग्दैन । कला क्षेत्रमा छोटो समयमै चर्चा कमाएकी र धेरै डिमाण्ड भएकी उनी निर्देशकको ह्यारेसमेन्टबाट बच्नुपर्ने चुनौती देख्छिन् । हालै एक पोडकास्टमा भनेको कुरा सम्झिँदै उनी भन्छिन्, ‘यो सामाजिक दुनियाँमा अनेक थरीका मान्छेहरु हुनेहरु रहेछन् । अनुभव गर्दै, सिक्दै र सचेत भएर अघि बढिरहेको छु ।’

मिस पवीसँग विभिन्नखाले अनुभवहरु छन् । एक जनाले आफूलाई सामाजिक सञ्जालमा ब्ल्याकमेल गर्न खोजेको अनुभव पनि छ । ‘मैले यो कुरा हालै एक पोडकास्टमा भनेको थिएँ, त्यो एकदम भाइरल भयो । धेरैले नराम्रो तरिकाले पनि बुझिदिनुभयो । त्यो मान्छेलाई म राम्रोसँग चिन्दैन थिएँ, उसले चाहिँ चिन्दो रहेछ । केहीसम्म ह्यारेस्मेन्ट भएको अनुभव गरेँ,’ उनी भन्छिन्, ‘तर, म त्यस्ता मानिससँग नजिक हुन नपाउँ जस्तो लाग्छ । यस कुरामा म सचेत छु ।’

मौलिक भाषा र गाउँठाउँ चिनाउने यात्रा रोकिँदैन
मिस पवी टिकटकबाटै राम्रो ख्याति कमाउन सफल भए पनि आम्दानी गर्न नसकेको बताउँछिन् । आफ्नो क्षेत्रको भूगोल र भाषाको प्रचारप्रसारका लागि मात्र आफू टिकटक बनाउने गरेको सुनाउँछिन । म्युजिक भिडियोमा आएको अफर अर्को सफलता भएको उनको बुझाइ छ । जहाँ भए पनि आफ्नो भाषा र भूगोलको प्रचार गर्न नहिच्किचाउने मिस पवीको सोच छ । तर टिकटक बन्द भएपछि सामाजिक सञ्जालमा भिडियो कम मात्रामा राख्ने गरिएको उनी सुनाउँछिन् ।

उनी भन्छिन्, ‘खासगरी एउटा विकट क्षेत्रका छोरीचेलीको जीवन यसरी व्यथित हुन्छ भन्ने सन्देश दिन खोज्थें । हाम्रो डोटेली भाषाको प्रचारप्रसार गर्न पाए आज सबैले हाम्रो भाषा सजिलै ठम्याउँछन् । खुशी लाग्छ । तर म जहाँ पुगे पनि यो काम गर्न छाडदिन । भाषा र मौलिकता हराउन दिनेछैन ।’

युवापुस्ताले संस्कृति र आफ्नो भाषा बिर्सिरहेका बेला आफूले केही हदसम्म त्यसको संरक्षणमा टेवा पुर्याएको भाषाका जानकारहरुबाट प्रतिक्रिया आउँदा खुशी लाग्ने गरेको उनले सुनाइन् । सरकारले टिकटक बन्द गरिसकेको अवस्थामा आफ्नै यूट्यूब च्यानल अनि ब्लगमार्फत् डोटेली भाषा अनि गाउँ ठाउँलाई प्रवर्धन गर्ने योजना रहेको उनले सुनाइन ।

अनि पानीको धारा काटियो
डडेलधुराको भागेश्वर क्षेत्र कांग्रेसको गढ मानिन्छ । मिस पवी त्यही परिवेशमा हुर्केकी हुन् । गत वर्षको प्रतिनिधि सभाको निर्वाचनमा त्यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार बनेका गुल्मीका सागर ढकालको पक्षमा मत माग्दै उनले केही टिकटक बनाएकी थिइन ।

‘आफूजस्तै युवालाई प्रोत्साहित गर्न भोट मागेको थिएँ । तर केही व्यक्तिहरुले समस्या पार्न खोजे । धम्क्याउने भाषामा प्रतिक्रिया दिए,’ उनले भनिन् ।

‘सागर ढकाल पनि चुनाव लड्न आएका छन् भन्ने सुनें । अनि धेरै टिकटक प्रयोगकर्ताहरुले सागरको बारेमा टिकटक बनाइदिनु भनेको आग्रहलाई स्वीकारेको थिएँ । त्यसमा मेरो आग्रह पूर्वाग्रह केही थिएन । सागरलाई मैले भेटेको पनि थिएन ।

केही अगुवाहरु किन सधैं एउटै व्यक्ति वा नेतालाई भोट दिने ? यस पटक युवा नेतालाई जिताउनुपर्छ भनेपछि भिडियो बनाएँ,’ उनी भन्छिन्, ‘सागरको पक्षमा भिडियो आएपछि गाउँलेहरुले विरोध गरेका थिए । कतिसम्म गरे भने अर्कै दलमा रहेका हाम्रै आफन्तहरुले हाम्रो घरको धारामा आउने खानेपानी नआउने बनाइदिए । खानेपानी बन्द गरिदिए ।’

ढकालका पक्षमा टिकटकमार्फत् भोट माग्दा कतिपयले आफ्नो क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई समर्थन गरेको भन्दै असन्तुष्टि पोखेका थिए ।

चुनावी मैदानमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका प्रतिष्पर्धी बनेका ढकाल पराजित भए । २५ हजार ५ सय ३४ मत ल्याएर देउवा संसद सदस्यमा सातौं पटक निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका ढकालले १३ हजार ४२ मत ल्याएका थिए । हारे पनि उनले पाएको मत परिमाण सम्मानजनक मानियो । ढकालले पाएको मतमा आफ्नो पनि भूमिका रहेको पवीको ठम्याइ छ ।

नेपाली कला क्षेत्रमा जमिरहेकी मिस पवीलाई अहिले फिल्मबाट पनि अफर आउन थालेको छ । सायद छिट्टै उनी फिल्मको पर्दामा पनि देखिनेछिन् ।

उनलाई काठमाडौंबाट धेरै कुरा सिक्नु छ । कला क्षेत्रमा आउने उतारचढाव चिर्दै सिक्दै अगाडि बढ्नु छ । उनलाई आफ्नो पहिचान, वेशभूषा र संस्कृतिलाई जोगाउनु छ र प्रवर्धन गर्ने इच्छा छ । ‘टिकटकले चिनायो यात्रा तय गरिदियो । अब यो यात्रालाई निरन्तरता दिनेछु । टिकटर मिस पवी होइन एक कलाकार र एक अभियन्ता बनेर चिनाउनु छ,’ उनले संवादमा भावी योजना सुनाइन ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ०८ बजे