Logo

खेलकुद

नेपाल युएईसँग पराजित, एसिया कपमा पुग्न असफल



काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको छ । यससँगै नेपाल एसिया कपमा पुग्न असफल भएको छ ।

नेपालले दिएको १२० रनको लक्ष्य पच्छाएको युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्‍यो ।

यूएईका अलिशान शराफुले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए । ४१ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे ।

विष्णु सुकुमारन २८, सैय्यद हैदर १४ र मोहम्मद वासिम ११ रनमा आउट हुँदा आयान अफजल खान २ रनमा अविजित रहे ।

नेपालका गुल्शनकुमार झाले सर्वाधिक २ विकेट लिए । सोमपाल कामी र ललितनारायण राजवंशीको नाममा १/१ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो ।

नेपालका सन्दीप जोराले अर्ध शतक बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

जोराले सर्वाधिक ५० रन बनाए । ४० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । गुल्शनकुमार झा २० र करण केसी १७ रन बनाएर आउट भए ।

नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । अर्का ओपनर आशिफ खेख ८, कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५, सोमपाल कामी २, रन बनाएर पेभिलियन फर्किए ।

अभिनाश बोहरा १ र ललितनारायण राजवंशी २ रनमा अविजित रहे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले दुई/दुई विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले एक/एक विकेट लिए ।

नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनलमा नेपाललाई पराजित गर्दै युएई फाइनलमा पुगेको छ ।

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो । तर सेमिफाइलमा युएईसंग ६ विकेटले पराजित भयो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ३ : २० बजे