Logo

खेलकुद

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईसँग टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाल समय अनुसार, विहान ११ः ४५ बजे सुरु हुनेछ ।

नेपालका लागि यूएई पुरोना प्रतिद्वन्द्वी हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाई नै सात विकेटले हराउँदै उपाधि चुमेको थियो । त्यतिबेला फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा पनि छनोट भएको थियो । प्रिमियर कपको त्यो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो ।

ओमानमा जारी दोस्रो संस्करणमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपाली टोलीले समूहगत चरणमा आफूले खेलेको चारवटै खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ११ : ४८ बजे