Logo

मुख्य समाचार

प्राकृतिक तथा मानव निर्मित सम्पदा संरक्षण र प्रवर्धनमा जोड



काठमाडौँ । प्राकृतिक र मानव निर्मित मूर्त अमूर्त सम्पदा बचाउन सके मात्र मानव सभ्यता बच्न सक्ने बताउँदै जनप्रतिनिधि, कर्मचारी, सस्कृतिकर्मी तथा स्थानीयले साझा मत व्यक्त गरेका छन् ।

विश्व सम्पदा दिवस २०२४ को अवसरमा विहीबार आयोजना गरिएका कार्यक्रमहरुमा यस्ता मत व्यक्त भएका हुन् । यो वर्ष ‘डिजास्टर एण्ड कन्फिन्ट थ्रु द लेन्थ अफ द भेनिस चार्टर’ नारासहित दिवसका कार्यक्रम आयोजना गरिएका छन् । यो चार्टर सन् १९६४ मा सम्पदा संरक्षण र व्यवस्थापनमा काम गर्ने विज्ञ र पेशाकर्मीहरुले जारी गरेका थिए । त्यस यताका सम्पदाले भोगेका विपत्ति, त्यसले पारेको असर र यसबाट सिक्नु पर्ने पाठलाई विश्लेषण गर्न नाराले झक्झक्याएको छ ।

दिवसको सन्दर्भ र महानगरपालिकाले गरेका कामका बारेमा धारणा राख्दै सम्पदा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन् ‘मूर्त अमूर्त सम्पदा र आपसी सम्बन्धको अभिलेखन गर्ने, हराएका र नासिएका संरचनासहित रीतिथिति र संस्कृति खोजेर पुनरुत्थान गर्ने कामलाई प्राथमिकता दिएका छौँ ।’ यसरी जोगाइएका सम्पदालाई अभिलेखन र पुस्तान्तरण गर्ने योजनाका साथमा काम भइरहेको संगतको भनाइ छ ।

दिवसको अवसर पारेर महानगरपालिकाका वडाहरुले विविध कार्यक्रम आयोजना गरेका छन् । यस क्रममा विश्व सम्पदा क्षेत्र भएका वडाहरुमध्ये वडा नं. १५ ले स्वयम्भू भुइँखेलमा वृहत योग र स्वयम्भूदेखि वसन्तपुरसम्मको सम्पदा पदयात्रा आयोजना गर्‍यो । विहान साढे ४ बजे भेला भएर ६ बजेसम्म सामुहिक योग गरिएको थियो भने त्यसपछि सम्पदा पदयात्रा गरिएको थियो ।

स्वस्थ्य जीवनका लागि योग र सम्पदाको पहिचान प्रवर्धनका लागि पदयात्रा गरिएको वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिए । २२ सय मिटरका दुरीमा भएका दुईवटा सम्पदा क्षेत्रका बिचमा दर्जनौँ भौतिक सम्पदा छन् । ती हरेक सम्पदासँग अभौतिक क्रियाकलाप हुने गरेका छन् । स्थानीयबासीलाई यी सम्पदाको सम्बन्ध बुझाउन पदयात्रा गरिएको डंगोलले स्पष्ट पारे ।

सम्पदा तथा पर्यटन विभागले लिपि गुथिसँगको सहकार्यमा वसन्तपुरमा क्यालिजात्रा आयोजना गर्दैछ । जात्रामा रञ्जना लिपि लेखन कला प्रदर्शन हुनेछ । नेपाल मण्डल (काठमाडौँ) को सभ्यता र पहिचानको प्रतीक रञ्जना लिपिको संरक्षण गर्न र पर्यटन प्रवर्धनमा सहयोग हुने अपेक्षा राखेर जात्रा आयोजना गरिएको सम्पदा तथा पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानले जानकारी दिए ।

विश्वभरि हरेक दिन मानिसहरु कुनै न कुनै संस्कार र संस्कृति मनाइरहेका हुन्छन् । हरेक ठाउँका प्रत्येक मानिससँग सम्बन्ध राख्ने संस्कृतिलाई साझा रुपमा मनाउन हरेक बर्ष अंग्रेजी महिनाको अप्रिल १८ तारिख इन्टरनेशनल डे फर मोनुमेन्ट्स एण्ड साइट्स अर्थात् बिश्व सम्पदा दिवसका रुपमा मनाउने गरिन्छ । इन्टरनेशनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स (स्मारक क्षेत्रहरुको अन्तरराष्ट्रिय परिषद) ले दिवस मनाउन सुरु गरेको हो । यो सन् १९६५ मा स्थापना भएको हो ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  १२ : ३६ बजे