Logo

मुख्य समाचार

डोल्पामा ‘राब्ने पूजा’सहित पुननिर्मित गुम्बा उद्घाटन गरिने



काठमाडौं । डोल्पा जिल्लाको चर्चित फोक्सुन्डो ताल किनारमा अवस्थित प्राचीन बोन गुम्बा पुननिर्माण भएको खुसीयालीमा धुमधामसँग ‘राब्ने पूजा’ गरी उद्घाटन गरिने भएको छ । यही वैशाख २६ गतेदेखि चारदिनसम्म नाम्ग्याल याङ्गटुप पूजाविधिद्धारा गुम्बाको राब्ने तथा उद्घाटन कार्यक्रम गरिने पूजा आयोजक समितिका संयोजक गेसे लोडोई छोगलेगले जानकारी दिएका छन् ।

पन्ध्रौँ शताब्दीमा धार्मिक गुरु टेतोन छेवाङ छुल्ठिमले स्थापना गरेको पाल शेन्तेन थासुङ छोलिङ गुम्बा जीर्ण भएकाले हालै पुननिर्माण गरिएको हो। यसभित्र मूल मूर्तिका रुपमा बुद्ध तोन्पा शेन्राव मिवोको छ। उनी बोन धर्मका संस्थापक हुन् । यो गुम्बा जीर्ण भएकाले सन् २०२१ बाट पुननिर्माण शुरु गरिएको हो ।

विभिन्न व्यक्ति, दातृ संस्था, रिग्मो गाउँका जनप्रतिनिधि, स्थानीय, थासुङ छोलिङ गुम्बाको खेन्पो साम्डुप निमा रिन्पोछे लगायत अन्य टावा र च्होमोहरूसँगको समन्वय र सहकार्यमा गुम्बा पुननिर्माण सफल भएको गेसे छोगलेगले बताए । डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिका वडा नम्बर ८ मा रिग्मो गाउँको छेउमा अवस्थित गुम्बा धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । यस क्षेत्रका बासिन्दाको मौलिक कला, संस्कृति, रितिरिवाज, चालचलन, भेषभुषा आदि छ। उनीहरु युङडुङ बोन धर्म मान्छन् ।

बुद्ध तोन्पा शेन्राव मिवोले १८ हजार ४० वर्षभन्दा पहिला बोन धर्म प्रतिपादन गरेका थिए। उनकै अनुयायी टेतोन छेवाङ छुल्ठिमले थासुङ छोलिङ गुम्बा स्थापना गरेका हुन् । यस गुम्बा स्थापना गर्नुको मुख्य उद्धेश्य रिग्मो समुदायको संरक्षण र जङ्गली जनावरको शिकार रोक्नका लागि हो । राब्ने पूजाको अबसरमा रिग्मो र पुग्मो गाउँको लामा नाचसहित सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिनेछ। यतिबेला फोक्सुन्डो पदयात्रा गर्ने मौसम पनि उपयुक्त छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १० : ०६ बजे