Logo

मनोरञ्जन

मिथुन चक्रवर्ती : १८० फिल्म फ्लप, स्टारडम हिट



मुम्बई । बलिउडका हरेक स्टारले सफलता र असफलताको समय देखेका छन् ।

शाहरुख खानदेखि लिएर अक्षय कुमारहुँदै सलमान खानसम्म आइपुग्दा अधिकांश फिल्म हिट भए पनि कुनै समय उनीहरुले करिअरको खराब अवस्थाको पनि सामना गरे ।

यद्यपि बलिउडमा यस्ता कम स्टार पनि छन्, जो असफलताको असर आफ्नो स्टारडमलाई पर्न दिएका छैनन् । आफ्नो करिअरमा झण्डै १ सय ८० वटा फ्लप फिल्म दिए पनि ‘डिस्को डान्सर’ अभिनेता अर्थात् मिथुन चक्रवर्तीले आफ्नो स्टारडमलाई फ्लप हुन दिएका छैनन् ।
मिथुनले बलिउडमा आफ्नो नाममा सबैभन्दा बढी फ्लप फिल्म दिने अभिनेताको रेकर्ड बनाएका छन् । सन् १९८० देखि ९० को दशकमा मिथुनले बलिउडमा एकछत्र राज गर्दा पनि उनले फ्लप फिल्मको संख्या उत्तिकै दिए । हरेक वर्ष उनको एक दर्जन फिल्म रिलिज हुन्थ्यो ।

उनले करिअरमा २ सय ७० बढी फिल्ममा काम गरे, जसमा १ सय ८० त फ्लप नै भए । सबैभन्दा बढी फ्लप फिल्म दिने अभिनेताको नाममा जितेन्द्र दोस्रो नम्बरमा पर्छन् । उनी अभिनीत १ सय १ फिल्म फ्लप छन् ।

९० को दशकको अन्तिम समयमा मिथुनका लगातार ३३ फिल्म फ्लप भए । फिल्म फ्लप भए पनि उनको स्टार स्टाटसमा कुनै असर परेन । उनले आफ्नो करिअरमा ५० हिट फिल्म, ३ ब्लकबस्टर र ९ सुपरहिट फिल्म पनि दिए ।

५० हिट फिल्मका अलावा उनले ७ औसत फिल्म पनि दिए । रोचक कुरा के छ भने मिथुनका फ्लप भएका फिल्म प्रायः कम बजेटका थिए । त्यसकारण अधिकांश निर्माताले खासै घाटा बेहोरेनन् । किनकी उनीहरुले त्यसको भरपाई गरिसकेका थिए ।

अहिले मिथुन अधिकांश फिल्ममा सहायक चरित्रमा देखिन्छन् । उनले टेलिभिजनमा डान्स रियालिटी शोमा निर्णायकको भूमिका खेल्दै आएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ९ : २८ बजे