Logo

Breaking News 1

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको थियो । माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने भएका छन् ।
‘विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ । सत्ता साझेदार दलहरूको तर्फबाट अहिले विश्वासको मत लिने र केन्द्रको सम्झौताको मर्म र भावनालाई कदर गरेर केही समयपछि सत्तालाई जसले पाउने भएको छ, उसलाई दिने निर्णय भयो,’ मंगलबारको बैठक सुनाउँदै प्रमुख सचेतक परियारले भने ।

केन्द्रमा कर्णालीमा मुख्यमन्त्री एमालेलाई दिने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नै मुख्यमन्त्री शर्मालाई राजीनामा दिन दबाब दिएका थिए । तर उनले विश्वासको मत लिएर मात्रै कुर्सी छोड्ने अडान लिए । उनको अडानपछि एमालेले पनि उनलाई विश्वासको मत दिने र त्यसपछि मुख्यमन्त्रीबाट शर्माले राजीनामा गर्ने शर्तमा तयार भएको हो ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ९ : ३२ बजे