Logo

Breaking News 1

‘दलहरु जनताबाट अलग भए समाजवादको बेहाल हुन्छ’



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादको यात्रामा संविधान बाधक बने सच्याएर अघि बढ्न सक्नुपर्ने बताएका छन् । नेपाली विशेषताको समाजवाद विषयक राजधानीमा मंगलबार आयोति अन्तरक्रिया कार्यक्रममा उनले जनजीविकाको सवालमा दलहरु गम्भीर भएमात्रै समाजवादको यात्रा सार्थक हुने बताए ।

उनले भने, ‘मानव जातिको विकासको अवस्थाको परिकल्पना गर्ने साम्यवादले नै हो । त्यहाँ पुग्नका लागि हामीले समाजवादको बाटोबाट नै जानुपर्छ । यो बाटोबाट जाने सन्दर्भमा अहिलेको संविधान यदि बाधक बन्छ भने त्यो बाधालाई पन्छाउने हो । यथार्थको धरातलमा टेकेर नेपाली समाजको, नेपाली राजनीतिक सापेक्षतामा हामी अगाडि बढ्ने हो, आफ्नो खुट्टामा टेकेर अगाडि बढ्ने हो ।

कुनै पनि कुरा स्थिर छैन, गतिशील छ । त्यसको गतिलाई बुझेर हामी अगाडि बढ्ने हो ।’ समाजवाद जनताको हित गर्ने व्यवस्था भएको भन्दै उनले विकल्प अरु कुनै व्यवस्था नभएको पनि भनाइ उनले राखे । सैद्धान्तिक बहस चलाइरहँदा जनजीविकाका सवालमा के के सहजीकरण गर्नुपर्छ भन्ने पनि दलहरुले हेक्का राख्नुपर्ने उनले औंल्याए ।

‘जनताबाट अलग भयौं भने समाजवादको बेहाल हुन्छ । समाजवादी पार्टीहरुको बिजोक हुन्छ । समाजवादका ठूला ठूलो कुरा गरेर मात्रै हुँदैन । हामी जनताको पीडा बेदनासँग जोडिएका छौ कि छैनौं ? समाजको गरिबी, अभाव र पछौटेपनले हामीलाई पोल्छ कि पोल्दैन ? समाजमा विद्यमान अन्याय, अत्याचार, भेदभावले हामीलाई पिरोल्छ कि पिरोल्दैन ?,’ उनले भने, ‘जनताको विजोक भइरहेको छ, अनि कम्युनिष्ट पार्टी भने ठूलो भएको छ भन्ने गर्छौ उनीहरु के गरिरहेका छन् । यो पनि पार्टीभित्र छलफल गर्नुपर्ने कुरा हो ।’

दलहरुको आकार ठूलो भए मात्रै व्यवस्था सफल नहुने जिकिर उनले गरे । उनले एमाले नाम नदिइ आकारप्रति कटाक्ष गरेका थिए । समाजवादको सफल कार्यान्वयनका लागि संविधानमा भएका कुनै व्यवस्थाले अवरोध गरेमा त्यसलाई सुधार गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

‘हाम्रो चुनावको प्रणालीमा समस्या छ, कुराहरु उठेका पनि छन् । तर, ती आंशिक पक्षहरु मात्रै हुन् । प्रत्येक उठेका कुराहरु आंशिक मात्रै हुन्,’ उनले भने, ‘समष्टिगत रुपमा कुन कुरा लागू गर्नुपर्छ भन्ने कुरामा गहन छलफलको आवश्यकता छ । समग्रमा अहिले अघि बढ्नको लागि यो संविधान सहयोगी छ । बाधक छैन ।’ समाजवादका सवालमा दलहरुबीच छलफल आवश्यक भएको पनि उनले बताए ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ४ : ५७ बजे