Logo

खेलकुद

सूर्य नेपाल गल्फ : सदभावलाई उपाधि, भुवन सात स्ट्रोकले पराजित



काठमाडौं । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको उपाधि जितेका छन् ।

अन्तिम दिन ३-अन्डर ६९ को स्कोरसहित समग्रमा १४-अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए । यो सिजन उनले जितेको यो दोस्रो उपाधि हो । जारी सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन् । यसअघि उनले यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन र गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए ।

अन्तिम १८ होलको सुरूवातमा प्रो भुवन र सदभावबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि भुवनले ३-ओभर ७५ को खराब प्रदर्शन गरे । समग्रमा ७-अन्डर २ सय ८१ सहित दोस्रो भए । प्रोतर्फ भने उनी पहिलो हुँदै १ लाख ४० हजार हात पार्न सफल भए ।

एमेच्योर खेलाडीहरूको दबदबा रहँदा अर्का एमेच्योर विजय श्रेष्ठ आइन्हाउस र प्रो निरज तामाङले संयुक्तरुपमा तेस्रो स्थान बाँडे । उनीहरूले समग्रमा ४-अन्डर २ सय ८४ मा खेल पुरा गरे । आज विजयले १-अन्डर ७१ र निरजले २-अन्डर ७० को प्रदर्शन गरे । प्रोतर्फ दोस्रो भएका निरजले ९६ हजार रुपैयाँ प्राप्त गरे ।

समग्रमा इभन (पार २ सय ८८) मा खेल सकाएका दिनेश प्रजापति प्रोतर्फ तेस्रो भए । उनले आज ३(ओभर ७५) मा खेल सके । तेस्रो भएका उनले ७२ हजार नगद हात पारे ।

यसैगरी समग्रमा ४ (ओभर २ सय ९२) सहित सञ्जय लामा र धनबहादुर थापाले प्रोतर्फ संयुक्तरुपमा चौथो स्थान बाँडे । सञ्जयले २-ओभर ७४ र धनले १-अन्डर ७१ को स्कोर निकाले । उनीहरूले जनही ५४ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

रवि खड्काले आज २ (ओभर ७४ )को स्कोर सहित समग्रमा ५(ओभर २ सय ९३) सहित छैटौं स्थानमा प्रतियोगिता सकाए । छैटौं भएका उनले ४२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी समग्रमा ७ (ओभर २ सय ९४) सहित रामे मगर र भुवनकुमार रोक्काले संयुक्तरुपमा सातौं स्थान बाँडे । दुवैले आज २ (ओभर ७४) मा खेल सकाए । उनीहरूले जनही ३७ हजार २ सय ५० नगद हात पारे ।

धरानका दुई प्रो युवराज भुजेल र बलभद्र राईले समग्रमा ११ (ओभर २ सय ९९ सहित नवौ स्थान बाँड्दा जनही ३२ हजार नगद हात पारे । युवराजले आज ८ (ओभर ८०) र बलभद्रले ४(ओभर ७६) मा खेल सके ।

प्रो भुवन र सदभावबीच आज खेलको सुरुवात गर्दा सदभावसँग मात्र एक स्ट्रोकको अग्रता थियो । तेस्रो होलमा भुवनले बर्डी प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए । तर छैटौं होलमा भुवनले बोगी प्रहार गर्दा सदभावले एक सट बचाए । छैटौं होलको समाप्तिमा सदभावले दुई स्ट्रोकको अग्रता बनाए । टर्निङ प्वाइन्ट भने सातौं होल बन्यो ।

भुवनले दोस्रो सट पोखरीमा खस्यो । त्यहाँबाट हानेको प्रहार पुनः पानीमै पुग्यो र उनले यो होलमा डबल बोगी खेप्दा सदभावले चार स्ट्रोकको अग्रता बनाए । यसपछि आठौं र नवौं होलमा फेरि एक-एक सट गुमाउँदा भुवनले फ्रन्ट नाइन ४ (ओभर ४०) मा सके । सदभावले १ (अन्डर ३५) मा फ्रन्ट नाइन पुरा गरे । फ्रन्ट नाइन सकिँदा सदभावले भुवनलाई ६ स्ट्रोकले पछि पारिसकेका थिए ।

बोगीरहित खेलेका सदभावले १२औं र १७औं होलमा बर्डी प्रहार गरे र ब्याक नाइन २ (अन्डर ३४) मा सकाए । यसरी सहजै सदभाव च्याम्पियन बन्दै फेरि एक पटक प्रो गल्फरहरूलाई पछि पार्न सफल रहे ।

लगातार तीन दिनका लिडर भुवनले अन्तिम दिन संघर्ष गरे र ब्याक नाइन १ (अन्डर ३५) मा खेल पुरा गरे । १३औं, १४औं र १८औं होलमा बर्डी प्रहार गरे भने १५औं र १६औं होलमा एक-एक सट बचाए । यसरी भुवनले समग्रमा दोस्रो र प्रोतर्फ पहिलो स्थान प्राप्त गरे ।

एमेच्योर विजयले टुरमा करिअरकै उत्कृष्ट प्रदर्शन गरे । उनले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए । पहिलो र पाँचौं होलको बोगीविरूद्ध तेस्रो र सातौं होलमा एक-एक सट बचाए । यसपछि ११औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए । सूर्य नेपाल गल्फ टुरमा उनी पहिलोपट एमेच्योरतर्फ दोस्रो भए ।

धरानका निरजले चौथो होलमा बोगी प्रहार गरे भने पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे । यसपछि १४औं र १५औं होलमा एक-एक सट बचाए भने १६औं र १८औं होलमा बोगीको सामना गर्दै ब्याक नाइन इभन-पार ३६ मा सकाए ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगितामा कट बनाएका २३ प्रो गल्फरमध्ये उत्कृष्ट २१ जनले नगद पुरस्कार प्राप्त गरे ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ७ : २४ बजे