Logo

राजनीति

उपाध्यक्षबाट उर्मिला अर्यालको राजीनामा, नेकपा एसको दाबी कायम



काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष उनले राजीनामा पत्र बुझाएकी हुन् ।

माओवादी केन्द्रबाट उपाध्यक्षमा गत माघ २३ गते निर्विरोध निर्वाचित भएकी अर्यालले हाल सत्ता गठबन्धनबाट अध्यक्षमा माओवादीको तर्फबाटै नारायण दाहाल निर्वाचित भएपछि विहीबार राजीनामा बुझाएकी हुन् ।

राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिने यसअघि सहमति भएपनि नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट उपाध्यक्षको आकांक्षा राखेको छ ।

गठबन्धन दलबीच उपाध्यक्ष नेकपा एस वा अरु कसैले लिने भन्ने औपचारिक  सहमति भने भएको छैन् । नेकपा एस सरकारमा आउनुअघि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई जोडबलका साथ गठबन्धन सरकारमा सहभागी हुन सहमत गराएका थिए । सो क्रममा उपाध्यक्ष एसलाई दिने साथै माधव नेपाललाई आलोपालो प्रधानमन्त्री बनाउने सहमति भएको बुझिएको छ ।

एमालेले शक्ति सन्तुलनको सिद्धान्तलाई ख्याल गर्दै उपाध्यक्ष एसलाई दिन सहमत भएको बुझिएको छ । दाहाल नेतृत्वको पुर्नगठित सरकारलाई सुदृढ र सफल पार्ने लक्ष्यका साथ भएको सात बूँदे समझदारी पत्रमा हस्ताक्षर गर्ने क्रममा उपाध्यक्षका सवालमा अन्य दल लचक भएको बुझिन्छ । एकीकृत उपमहासचिब प्रकाश ज्वालाले उपाध्यक्ष आफ्नो पार्टीले लिने सहमति भइसकेको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ४ : १७ बजे