Logo

खेलकुद

लुम्बिनी खुकुरी क्लब र जनकपुर पिस फाउण्डेशनबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । पहिलो जीतपुरसिमरा टि–ट्वेन्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत बुधबारको वर्षाले रोकिएको खेल बिहीबार हुने भएको छ । लुम्बिनी खुकुरी क्लब र जनकपुर पिस फाउण्डेशनबीचको खेल दिउँसो १ बजेबाट शुरु हुने छ ।

आयोजक अभियान नेपालका संरक्षक त्रिलोक बिक्रम शाहले वर्षाका कारण बुधबार हुन नसकेको खेल आज खेलाइने र बिहीबारको खेललाई शुक्रबार सारिएको बताए ।

राउण्ड रोबिनका आधारमा संचालित प्रतियोगितामा समूह ‘बी’ को दुई खेल बाँकी छ । यस समूहमा मकवानपुर, जनकपुर र भैरहवा छन् । समूह ‘बी’ को मंगलबार सम्पन्न पहिलो खेलमा मकवानपुरले जनकपुरलाई ३१ रनले पराजित गरेको थियो । समूहको दोस्रो खेलमा जनकपुर र भैरहवा भिड्नेछन् भने तेस्रो खेलमा मकवानपुर र भैरहवाबीच प्रतिस्पर्धा हुनेछ ।

यस समूहको विजेताले समूह ‘ए’ को विजेता पर्सा क्रिकेट संघसंग चैत्र १० गते फाइनल खेल्नेछ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै पर्सा फाइनलमा प्रवेश गरिसकेको छ । पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब र कलैया क्रिकेट क्लबलाई पराजित गरेको थियो ।

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले ट्रफी सहित एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ११ : ३१ बजे