Logo

खेलकुद

नेपालले बहराइनसँग खेल्दै



काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को छनोट खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे बहराइनको राष्ट्रिय रंगशालामा हुने छ । समूह एचमा रहेको नेपालले होम एन्ड अवे दुवै खेल बहराइनमा खेल्ने छ । आजको खेल दशरथ रंगशालामा हुनु पर्ने भए पनि एफसीको प्राविधिक कमिटीले नेपालको मैदान अस्वीकृत गरेपछि दुवै खेल खेल्न नेपाली टोली बहराइन गएको हो ।

बहराइन जानु अघि मलेसियामा अभ्यास गरेको नेपालले त्यहाँको राष्ट्रिय टिमसँग खेल्दा पराजय भोगेको थियो । नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन् । नेपाल पहिलो खेलमा यूएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो । यस समूहमा शतप्रतिशत जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ । यूएईले २ खेलबाट ६ अंक जोडेको छ । यूएईसँग २–० गोल अन्तरले पराजित भएको बहराइनको समान खेलबाट ३ अंक छ ।

बहराइनले यमनलाई २–० गोल अन्तरले पराजित गरेको थियो । बहराइनसँग समान अंक भएपनि यमन तालिकामा तेस्रो स्थानमा छ । नेपाल भने जितविहीन छ । नेपालले अर्को खेल चैत १३ गते फेरि बहराइनसँगै खेल्ने छ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाले बहराइनमा खेलाडी बाहेक पदाधिकारीको संख्या धेरै पठाए पछि अहिले विवाद भइरहेको छ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपको स्वीकृति विना नै कार्य जिम्मेवारी नै नभएका कतिपय पदाधिकारी पनि बहराइन पुगेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ९ : ३१ बजे