Logo

खेलकुद

युद्धको मारमा खेलाडी : रुस र बेलारुस ओलम्पिकको उद्घाटन प्रदर्शनबाट वञ्चित



काठमाडौं । अन्तर्राष्ट्रिय खेलकूदमा युद्धको प्रभाव कस्तो हुन्छ भन्ने कुरा विश्व ओलम्पिकमा प्रस्टसँग देखिएको छ ।
फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने विश्व ओलम्पिकको उद्घाटन समारोहमा रुस र बेलारूसका खेलाडीले प्रत्यक्ष सहभागिताको अवसर गुमाउनेछन् ।

उनीहरु दर्शकदीर्घामा बसेर बाँकी विश्वका खेलाडीको प्रदर्शन टुलुटुलु हेर्न विवश हुनेछन् । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) ले रुस र बेलारुसका खेलाडीहरुलाई उद्घाटनको परम्परागत परेडमा भाग लिन अनुमति नदिने भनेर हिजो मंगलबार निर्णय गरेको छ ।

पेरिस ओलम्पिक आगामी जुलाई २६मा सुरु हुनेछ । त्यसकै उद्घाटन समारोहमा हजारौं खेलाडीहरूले स्टेडियम भित्र हुने राष्ट्रिय टिमहरुको सामान्य परेडको सट्टा एफिल टावर तर्फ धेरै माइल (किलोमिटर) सम्म सेइन नदीमा नौका विचरण गर्नेछन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अनुसार, रूस र बेलारुसका खेलाडीहरूले तटस्थ रूपमा ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमतिमात्र पाएका छन् । उनीहरुलाई उद्घाटनको महत्वपूर्ण प्रदर्शनीमा प्रत्यक्ष सहभागी हुन अनुमति दिईएको छैन ।

युक्रेनमा जारी युद्धका कारण रुस र बेलारुसलाई ओलम्पिक खेलकुदमा प्रतिबन्ध लगाइएको छ र आईओसीले ती देशका व्यक्तिगत खेलाडीहरूलाई तटस्थ रुपमा भाग लिन पनि दुई चरणको परीक्षणको प्रावधान राखेको छ । ती खेलाडीहरूलाई पहिले उनीहरूको व्यक्तिगत खेलको परिक्षण र आईओसीको प्यानलको अनुमोदन आवश्यक पर्ने भनिएको छ ।

तटस्थ एथलीटहरूले युक्रेनको आक्रमणलाई सार्वजनिक रूपमा समर्थन गरेको वा सैन्य वा राज्य सुरक्षा एजेन्सीहरूसँग सम्बद्ध हुनु नहुने आईओसीको शर्त छ । आईओसीले मङ्गलबार पेरिस खेलकुदका लागि रुसी राहदानी भएका ३६ तटस्थ खेलाडी र बेलारूसी राहदानी भएका २२ जनाले पेरिस खेलकुदका लागि योग्य हुने अपेक्षा गरेको छ ।

ती खेलाडीहरूलाई अगस्ट ११ को समापन समारोहमा भाग लिन दिइने वा नदिने भन्ने निर्णय पछिल्लो चरणमा निर्णय लिइने आईओसीले जानकारी दिएको छ ।

तर ती तटस्थ खेलाडीहरूले जितेका कुनै पनि पदकलाई समग्र पदक तालिकामा सामूहिक रूपमा गणना नगरिने भएको छ ।
ओलम्पिक नेताहरू र रूसी खेलहरू बीचको तनावको अर्को स्रोतमा, आईओसीले मंगलबार निर्णय ग¥यो कि क्रेमलिन–समर्थित उमर क्रेमलेभको नेतृत्वमा अन्तर्राष्ट्रिय बक्सिङ संघ २०२८ लस एन्जलस ओलम्पिकको लागि बाउटहरू आयोजना गर्न संलग्न हुनेछैन ।

आईओसीले लस एन्जलस कार्यक्रमबाट बक्सिङ हटाउने धम्की पनि दियो जुन विश्वव्यापी राष्ट्रिय महासंघहरूलाई आईबीए र क्रेमलेभबाट टाढा राख्न चुनौती जस्तो देखिने बताईएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ४ : ५९ बजे