Logo

खेलकुद

जीतपुरसिमरा टि–ट्वेन्टी क्रिकेट वर्षाले प्रभावित



काठमाडौं । जीतपुरसिमरा टि–ट्वेन्टी क्रिकेट कप प्रतियोगिताअन्तर्गत बुधबारको खेल वर्षाले प्रभावित भएको छ । बिहानैदेखि भएको वर्षा नरोकिएपछि जनकपुर पिस फाउण्डेसन र खुकुरी क्रिकेट क्लबबीचको खेल स्थगित भएको हो ।

आयोजक अभियान नेपालका संरक्षक त्रिलोकविक्रम शाहले वर्षाका कारण प्रभावित भएको खेल बिहीबार हुने जानकारी दिए । वर्षा नरोकिएका कारण बुधबारको खेल बिहीबार र बिहीबारको खेललाई शुक्रबार सारिएको उनले बताए ।

राउण्ड रोबिनका आधारमा सञ्चालित प्रतियोगितामा समूह ‘बी’ का दुई खेल बाँकी छ । यस समूहमा मकवानपुर, जनकपुर र भैरहवा छन् । समूह ‘बी’ को मंगलबार सम्पन्न पहिलो खेलमा मकवानपुरले जनकपुरलाई ३१ रनले पराजित गरेको थियो ।

समूहको दोस्रो खेलमा जनकपुर र भैरहवा भिड्नेछन् भने तेस्रो खेलमा मकवानपुर र भैरहवाबीच प्रतिस्पर्धा हुनेछ । यस समूहको विजेताले समूह ‘ए’ को विजेता पर्सा क्रिकेट संघसँग चैत १० गते फाइनल खेल्नेछ ।

समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै पर्सा यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब र कलैया क्रिकेट क्लबलाई पराजित गरेको थियो ।

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ४ : ४९ बजे