Logo

कोशी

दलको पदाधिकारी बनेका क्याम्पस प्रमुख र शिक्षक कारबाहीको प्रक्रियामा


२८ फाल्गुन २०८०, सोमबार  

92
Shares

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले बहालवाला शिक्षक राजनीतिक दलको सदस्य भएको भन्दै कारबाहीको माग गर्दै दिएको उजुरीमाथि जिल्ला समन्वय समिति संखुवासभाले कारबाही प्रक्रिया अघि बढाएको छ ।

परिषद् संखुवासभा एकाइले बहालवाला शिक्षक राजनीतिक दलको पदाधिकारीमा चयन भएको भन्दै जिल्ला समन्वय समिति संखुवासभामा उजुरी दिएको थियो ।

नेकपा एमाले संखुवासभाको हालै सम्पन्न जिल्ला अधिवेशनबाट मादी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्तिकुमार दाहाल उपाध्यक्ष र रामेश्वर माध्यमिक विद्यालय तथा रामेश्वर क्याम्पसका प्रमुख मदनबहादुर खत्री सदस्य निर्वाचित भएका थिए ।

उनीहरू पदाधिकारीमा नियुक्त भएपछि परिषद्ले कारबाहीको माग गर्दै दिएको उजुरीमाथि जिल्ला समन्वय समिति संखुवासभाले कारबाही प्रक्रिया अघि बढाएको हो । समितिले नेकपा एमाले जिल्ला कमिटी संखुवासभालाई यस विषयमा जानकारी दिन भन्दै पत्राचार गरेको छ ।

शिक्षा ऐन, २०२८ को दफा १६ ९४० ५ को (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा निजलाई पदबाट हटाउने व्यवस्था छ ।

साथै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २ (ग) मा राजनीतिक दलको सदस्यता वितरण गर्दा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको व्यक्ति हुनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ४ : ४२ बजे