Logo

कला/साहित्य

‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’


१८ फाल्गुन २०८०, शुक्रबार  

92
Shares

ठूला र बडाको हार कहाँ छ, समान देख्ने आधार कहाँ छ
एउटालाई बचाउन अर्को मर्नु पर्ने, सबलाई बराबर संसार कहाँ छ
जति नै जपन मन्त्र स्वाभिमानको, मान्छे नबेचिने बजार कहाँ छ
यता नि ढल्कने उता नि ढल्कने,कतै नढल्कने विचार कहाँ छ
ठूला र बडाको हार कहाँ छ

प्रज्ञा गजल महोत्सव २०८० मा गुञ्जिएका गजलमध्येको एउटा हो यो । काठमाडौंको कमलादीमा शुक्रबार आयोजित गजल महोत्सवमा विभिन्न जिल्लाबाट आएका सर्जकहरुले आ–आफ्ना रचना वाचन गरेका छन् ।

महोत्सवमा नेपाली मात्रै नभएर अन्य १० भाषामा पनि गजल वाचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानले गजल विधाप्रति युवा पुस्ताको बढ्दो अभिरुचि र आकर्षणलाई ध्यानमा राख्दै महोेत्सव आयोजना गरेको बताए ।

कला, संस्कृति, भाषा, साहित्यको क्षेत्रमा संविधानभित्र रहेर पनि संविधान बाहिरको काम गर्न सक्ने महत्वपूर्ण संस्था प्रज्ञा प्रतिष्ठान भएको उल्लेख गर्दै उनले राज्य सत्ता, संविधान र आफ्नै विरुद्धमा उभिएर लेख्न सक्ने सामथ्र्य राख्ने विधाको रुपमा गजल, कविता र कलालाई चिनाउँदै विचारको दायरा फराकिलो बनाउन महोत्सव उपयोगी सिद्ध हुने धारणा राखे ।

कविता, गीत, गजल र साहित्यिक लेखनले मानिसका विचारको दायरा फराकिलो पार्दै लैजाने र लेखकलाई भ्रष्ट हुनबाट जोगाउने चर्चा गर्दै उनले साहित्य लेखनमा जोड दिए ।

शरीरमा लागेको फोहोर हटाउन साबुनको प्रयोग गरे झैं दिमागमा लागेको फोहोर हटाउने साबुन गजल, कविता लेखन भएको बताएका राईले भने ‘साहित्यकर्म पनि मानिसजस्तै भ्रमण गर्दो रहेछ । फारसी भाषाबाट उर्दू, भारतीय हुँदै नेपालमा पनि गजलले मानक पाइसकेको छ ।’

कार्यक्रममा १० वटा भाषामा गजल वाचन भएको उल्लेख गर्दै उनले यो कार्यक्रम महोत्सव नै भएको दाबी गरे ।

‘नेपालको सामाजिक संरचना अनुसारको सबै कुराहरुलाई समावेश गरेपछि पो त्यो महोत्सव हुन्छ । चाहे त्यो एक दिने होस् वा आधा दिने कार्यक्रम । यो महोत्सव हो । किनभने ८÷१० वटा भाषामा यहाँ गजल प्रस्तुत हुन्छन् । मैले साहित्यले भ्रमण गर्छ भन्नुको पनि अर्थ छ । गजलको माध्यमबाट नेपाली मात्रै होइन अन्य विभिन्न भाषाले यहाँ भ्रमण गरिसकेको छ । मानक बनिसकेको छ,’ उनले भने, ‘पहिले पहिले चारदिने दुईदिने कार्यक्रम गरेको भन्दा अहिले यो भव्य महोत्सव हो, यहाँ १० वटा भाषामा गजल बाचन भएका छन्, यो सानो विषय होइन, संख्यालाई मात्रै मानक बनाउनु हुँदैन । सांकेतिक र प्रतिकात्मक रुपले यो १० दिनको महोत्सव भन्दा ठूलो महोत्सव हो ।’ 

गजल महोत्सव नयाँ चिन्तनको साथ आयोजना गरेको उल्लेख गर्दै उनले नेपालको १ सय ३० भन्दा धेरै भाषाभाषीलाई महोत्सवमा आगामी दिनमा समेट्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो महोत्सवमा १३० भन्दा धेरै भाषाभाषीलाई समेट्नुपर्छ, हरेक एपीसोडमा विस्तारै भाषाको उपस्थिति बढाउदै लैजानेगरि हामी नयाँ सोचका साथ अगाडि बढेका छौं ।’

कार्यक्रममा उनले प्रतिष्ठानमा ११ वटा विभागमध्ये काव्य, मातृभाषा, दर्शनशास्त्र, र सामाजिक संस्कृति विभागलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ५ : २९ बजे