Logo

प्रविधि

अध्यागमन विभागका सेवाहरु अब स्वचालित प्रणालीमा



काठमाडौं । अध्यागमन विभागबाट प्रदान हुने सेवाहरुलाई पुर्णरुपमा अनलाइनबाट हुनेगरी कार्यालयको कार्य प्रकृया स्वचालित गरिएको छ । विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई व्यवस्थित, नियमित र नियन्त्रित रुपमा समय अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी र चुस्त बनाउनको लागि नेपालमा ई– भिसा लागू गर्ने पूर्वअभ्यास स्वरुप ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ (इटीए) सेवा सुचारु गरिएको हो ।

विभागबाट प्रदान हुने सेवाहरुलाई पुर्णरुपमा अनलाइन र कार्यालयको कार्य प्रकृया स्वचालित गरिएको साथै अध्यागमन कार्यालयहरुलाई स्वचालित प्रणालीको सञ्जालमा जोडिएको अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए ।

अध्यागमन विभाग र कार्यालयहरुमा स्वचालित प्रणाली लागूगर्ने, अनलाइन सेवा तथा भावी सुधारका योजना अन्र्तगत नै ई–भिसा लागूगर्ने पूर्वअभ्यास स्वरुप इटीए सेवा सुचारु गरिएको तथा अध्यागमनका कार्यालयहरुबाट स्वचालित प्रणालीमा काम सुरु भएको महानिर्देशक तामाङले बताए ।

अटोमेसन लागू भएसँगै अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरुलाई पूर्ण रुपमा डिजिटाइज र अटोमेसन गर्ने अभियानको क्रममा सबै कर्मचारीहरुले कार्यालयको कार्य भौतिक उपस्थिति बिना घरैबाट काम सम्पन्न गर्ने कार्यको थालनी भएको छ ।

ई भिसा लागू गर्ने पूर्व अभ्यासको लागि ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ (इटीए) मार्मत संसारको कुनै पनि ठाउँबाट विदेशी नागरिकले ‘ई भिजा सेक्सन’ मा आवदेन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

सेक्सनको अध्यागमन अभिकृतिले आवेदन रुजु गरेपछि आवेदकलाई सेवा शुल्क बापतको भौचर स्वचालित रुपमा आवेदकको ईमेलमा जाने र आवेदकले नेपाली बैंकिङ प्रणाली मार्फत भुक्तानी गरेपछि  अध्यागमन विभागको प्रणालीबाट विद्युतीय हस्ताक्षरित इटीए सम्बन्धित व्यक्तिको ईमेलमा जाने व्यवस्था गरेको छ ।

अध्यागमन सुधारको कार्यलाई गृहमन्त्रालयले निरन्तरता दिएको उल्लेख गर्दै गृह सचिव दिनेश भट्टराईले ‘लामो लाइनदेखि अनलाइनसम्म’ सेवा उपलब्ध गराउने मिसनमा मन्त्रालय रहेको बताए ।

विभागमा इटीए सेवा र अटोमेसन प्रणालीको सुरुवात गरेपनि यसको निरन्तरताको लागि सबैको साथको आवश्यकता पर्ने बताए ।

सचिव भट्टराईले अध्यागमन विभागले केही समयअघिबाट ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ (इटीए) लागू गरिरहेको उल्लेख गर्दै अब विदेशमा बस्ने नागरिकले छिट्टै ई भिजा लिन सक्ने गरी कार्य गरीरहेको गृह सचिव भट्टराईले जानकारी दिए ।

‘इटीएमा विदेशमा बसेको व्यत्तिले आफ्नो ट्राभलको सामान्य सूचनाहरु दिएर भिसाको कानूनी वैद्यता लिएर कन्फरमेसन सहित एअरपोर्टमा आइपुग्ने र लाइनमा बस्ने र र क्युआर प्रोसेसिङको कुरालाई अलिकति घटाएर सोझै भिसा स्टिकरमा जाने गरेर हामीले प्रणाली विकसित गरेका थियौं । त्यो प्रणालीलाई अलि उन्नत बनाएर हामीले इटीएकै आधारमा भिसा स्टिकर सोझै जारी हुन सक्ने गरेर प्रणालीलाई अपग्रेट गरेका छौ । अब जहाँसुकैबाट सेवाग्राहीले आवेदन भर्न र पेमेन्ट गर्न सक्ने लक्ष्यतिर हामी अगाडि बढेका छौं ।’

तर, अहिले इटीएमार्फत सेवा लिँदा सेवाग्राहीले नेपाल भित्रबाट मात्रै अनलाईन पेमेन्ट गर्न सक्छन् । विभागले भने विश्वभरबाट पेमेन्ट गर्न मिल्ने गरी प्रणाली विकास गरिरहेको र थप सुधारको काम भैरहेले भविष्यमा विश्वभरबाट गरिएको पेमेन्टलाई रिसिभ गर्न सक्ने गरी प्रणाली विकास गर्ने भट्टराईले बताए ।

यस्तै, इमिगे्रसन रिफर्मको एजेन्डा अन्र्तगत राखेर नै भिजिट भिसालाई सेवाग्राहीमैत्री बनाउने गरेर विगतमा रहेको भिसाको प्रावधानमा सहजीकरण र सरलीकरण गरेको भट्टराईले जानकारी दिए ।

अब भिजिट भिसामा जानेले स्वयं जिम्मेवार हुने गरी उनिहरुलाई जिम्मेवार बनाउन प्रकृयागत सरलीकरण गरेको भट्टराईको भनाई छ ।

‘भिजिट भिसामा जाने व्यत्तिले म कहाँ के कामको लागि जाँदैछु र कहिले फर्किन्छु भन्ने बारेमा व्यत्ति स्वयं जिम्मेवार हुने गरेर भिजिट भिसामा जानेको स्वयं घोषणालाई प्रमुख मानेर केही कानूनमा भएका व्यवस्थालाई मात्र राख्ने गरेर व्यत्तिलाई जिम्मोवार बनाएर तदनुरुपकै ट्राभल एडभाइस सात सय ५३ वटै पालिकामा पठाएर भिजिट भिसामा जाने व्यत्ति स्वयंलाई जिम्मेवार बनाउने गरी प्रकृयागत सरलीकरण भएको छ । 

शुक्रबार गृहमन्त्री नाराउणकाजी श्रेष्ठले अध्यागमन विभाग कालिकास्थानको सभाहलबाट अफिस अटोमेसन प्रणालीको शुभारम्भ गरेका थिए ।

सेवाग्राहीले अध्यागनमन विभागमार्फत अब स्वचालित प्रणालीमार्फत नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न,पदयात्राका लगि अनुमति लिनलगायतका कामका लागि भौतिक उपस्थिति जनाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । 

सो कार्यका लागि सेवाग्राहीले वेवसाइटमार्फत आवेदन भरिसकेपछि उक्त आवेदन विभागको नेपाली पोर्टलमा पठाउँछ र अफिस अटोमेसनबाट भौचर जेनेरेट हुन्छ । सेवाग्राहीले सेवा लिँदा लाग्ने शुल्क मोवाइलबाट तिर्न गर्न सक्छन् ।

सेवाग्रहीले शुल्क तिरिसकेपछि आप्रवासन (इमिग्रेसन) अफिसरले शुल्क रुजु गर्छन र भिसा स्वीकृत वा रिन्यु हुन्छ । त्यसपछि आवेदन भर्ने व्यक्तिले इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (इटीए) को फर्म व्यक्तिको मेलमा पठाइन्छ ।

उक्त फर्म बोकेर एअरपोर्टको डेक्समा सेवाग्राही पुगेपछि  भिसा स्टिकर पाउँछन् । त्यसलाई प्रिन्ट गरेर सेवाग्राहीलाई उपलब्ध गराइन्छ । अनलाइनमार्फत सेवाग्राहीले फर्म भरेर उक्त सुविधा पाउनेभएपछि सेवाग्राहीलाई लामो समय लाइनमा बस्ने झन्झटको अन्त्य हुनाको साथै विभागको काममा सहजता आउने, सेवाग्राहीको पहुँच बढ्ने, पारदर्शीता आउने तथा अध्यागमन विभागको सेवामा सुधारको अपेक्षा गरिएको छ । 

भिसा जारी गर्ने व्यवस्थालाई थप प्रभावकारी, व्यवस्थित र सहज बनाउन कुटनैतिक नियोगहरुसँग सम्बन्धित भिसाका सम्पूर्ण कार्यहरु कन्सुलर सेवा विभागवाट र  उद्योग विभागमा रहेको एकल विन्दु सेवा केन्द्रबाट नै जारी गर्ने कार्य सुरु गरिएको हो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  २ : २० बजे