Logo

खेलकुद

आहा–रारा गोल्डकप : दोश्रो सेमीफाइनलमा आर्मी र चर्चब्वाइज खेल्दै



पोखरा । पोखरामा जारी आहा–रारा पोखरा गोल्डकपको दोश्रो सेमीफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेड भीड्दैछन् । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ । आजको खेल जित्ने टिमले शनिबार हुने २३ औं आहा–रारा पोखरा गोल्डकपको उपाधि भिडन्त खेल्नेछ ।

पहिलो सेमीफाइनलमा जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब बुधबारै फाइनल प्रवेश गरिसकेको छ । आहा–रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् । प्रतियोगितामा आर्मी अहिलेसम्म उपाधिविहीन छ भने गतवर्षबाट मात्रै प्रतियोगितामा समेटिएको चर्च ब्वाइज पहिलो वर्ष नै सेमीफाइनलसम्म खेलेको थियो ।

यसपटक आर्मीले भरत खवासको कप्तानीमा खेलाडीहरु मैदान उतारेको छ । आर्मीको टिममा राष्ट्रिय टिमबाट खेलेका जिलेप्सीजंग कार्की, दिनेश हेन्जङ, विमल पाण्डे, विकेश कुथुलगायत छन् । चर्चब्वाइजको कप्तानी अनन्त तामाङले सम्हालिरहेका छन् ।

टिममा राष्ट्रिय टिमबाटै खेलिसकेका कमल श्रेष्ठ, नेपाल सुपर लिग (एनएसल)मा उत्कृष्ट प्रदर्शन गरेका रोहन कार्की, सन्तोष खत्री, सञ्जित राई, राजीव लोप्चन, कृपाकान्त चौधरी, समीर तामाङलगायत खेलाडी छन् ।

प्रतियोगितामा यो वर्ष दुई विदेशीसहित १२ टिम सहभागी थिए भने विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ जित्नेछन् । गतवर्ष संकटा क्लब काठमाडौंले उपाधि जितेको थियो ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ७ : ५४ बजे