Logo

खेलकुद

हिसान स्पोर्टस् : फुटबलतर्फ दुवै स्पर्धाको उपाधि अर्किड कलेजलाई



विराटनगर  । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत फुटबलतर्फको दुवै स्पर्धाको उपाधि विराटनगरको अर्किड कलेजले जितेको छ ।

विराटनगरको शहिद मैदानमा मंगलबार राती सम्पन्न भएको फुटबलतर्फको दुवै स्पर्धाको उपाधि अर्किड कलेजले जितेको हो ।

पहिलो पटक हिसान खेल महोत्सवमा समावेश गरेको छात्रा फुटबलको फाइनलमा विराटनगरको अर्किड कलेजले पथरीको रेड स्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गरि पहिलो उपाधि हात पारेको हो ।

अर्किडको जितमा समीक्षा आचार्यले एक मात्र निणार्यक गोल गरिन् । उनी फाइनल खेलको ओमेन अफ फाइनलसँगै उत्कृष्ट स्ट्राइकर र ओमेन अफ टुर्नामेन्ट समेत घोषण भइन् । त्यस्तै उत्कृष्ट गोल किपरमा अर्किडकी प्रियंका थन्दार र उत्कृष्ट मिडफिल्डर रेड स्टारकी प्रमिसा श्रेष्ठ घोषित भइन् ।

त्यस्तै छात्र फुटबलको फाइनलमा विराटनगरको अर्किड कलेजले नै पथरीकोे रेड स्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गरि उपाधि हात पारेको हो ।

अर्किडको जितमा सन्दिप थापा मगरले एक मात्र निणार्यक गोल गरे । प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर अर्किडका सन्दिप थापा मगर, उत्कृष्ट स्ट्राइकर अर्किडकै प्रनिल थापा मगर, उत्कृष्ट गोलकिपर अर्किडका पर्वत राजवंशी, उत्कृष्ट डिफेन्स रेड स्टारका भिशन राई र म्यान अफ टुर्नामेन्ट अर्किडका सागर विश्वकर्मा घोषित भए ।

माघ १० गतेदेखि शुरु भएको प्रतियोगितामा हिसानसँग आवद्ध २९ वटा कलेजहरुका १ हजार २ सय बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

यसपटकदेखि स्पोर्टस् मिटमा छात्रा फुटबल र कबड्डी खेल सहभागी गराएको थियो । स्पोर्टस् मिटमा फुटबल (छात्र तथा छात्रा), क्रिकेट (छात्र), बास्केटबल (छात्र), कबड्डी (छात्र) भलिबल (छात्र तथा छात्रा), टेबलटेनिस सिंगल र डब्लस (छात्र,छात्रा), एथलेक्टिसका खेलहरु भएका थिए ।

विजेता खेलाडी तथा अन्यलाई प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्रदेश अध्यक्ष ज्ञानबहादुर खड्का, प्रदेश सचिव दिपेश बास्तोलालगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ४ : ०६ बजे