Logo

कला/साहित्य

‘महाजात्रा’को पहिलो गीत – ‘आहा ! क्या राम्रो’



काठमाडौँ । नेपाली फिल्म ‘महाजात्रा’ को पहिलो गीत ‘आहा ! क्या राम्रो’ सार्वजनिक भएको छ । माघे संक्रन्तीको दिन सार्वजनिक गरिएको गीतमा खुल्लामञ्चमा सेट लगाएर छायाङ्कन गरिएको थियो ।
गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ ।
गीतमा फिल्मका कलाकारहरू विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन् ।


फिल्मका निर्देशक प्रदीप भट्टराईले फिल्म सुहाउँदो गीत भएकाले यो गीत प्रचारप्रसारका लागि तयार पारिएको बताए
एक सयभन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्म आगामी चैत ९ गते रिलिज हुँदैछ ।
निर्देशक भट्टराईले फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार पारिएको बताए । फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो श्रृङ्खलामा ‘महाजात्रा’ बनाइएको हो ।
‘फिल्ममा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई प्रस्तुत गरेका छौं’, प्रदीपले भने ।


फिल्ममा हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।
फिल्ममा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ३ : ४२ बजे