Logo

मनोरञ्जन

सौरवको बायोपिकमा आयुष्मान



मुम्बई । बलिउडमा हालसम्म महेन्द्रसिंह धोनी, मोहम्मद अजहरुद्दीन र प्रवीण तांबेजस्ता कैयौं पूर्व क्रिकेटरको जीवनलाई बायोपिक फिल्ममार्फत दर्शकले हेरिसकेका छन् । बायोपिकको सूचीमा अब भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरव गांगुली पनि जोडिने भएका छन् ।

फिल्म निर्माता तथा निर्देशक लव रन्जनले आफ्नो प्रोडक्सन हाउसमार्फत सौरवको बायोपिक बनाउने तयारी गर्दैछन् । त्यसो त उनले यो फिल्म बनाउने घोषणा धेरै अगाडि गरेका थिए । तर कैयौं कारणले फिल्मको सुटिङ शुरु हुन ढिलाई भइरहेको थियो ।

अब भने लवले आफ्नो सह–निर्माता अंकुर गर्गसँग मिलेर यो फिल्मको काम शुरु गर्ने तयारी गरेका छन् । यो फिल्म घोषणा हुनासाथ अभिनेता रणवीर कपूरले सौरवको भूमिका निर्वाह गर्ने चर्चा थियो । तर अब भने यो भूमिकामा अर्का अभिनता आयुष्मान खुराना फाइनल भएका छन् ।

फिल्मको निर्देशक विक्रमादित्य मोटवाणीले गर्नेछन् । निर्देशक विक्रमादित्य निर्माताहरुको पहिलो रोजाईमा थिए । तर बीचमा विक्रमादित्य अन्य प्रोजेक्टमा जोडिनु पर्ने भएपछि उनले बायोपिक प्रोजेक्ट छोडेका थिए ।

उनले छोडेपछि निर्माताले सुपरस्टार अभिनेता रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तलाई निर्देशनको जिम्मा दिने सोच बनाएका थिए ।

यद्यपि विक्रमादित्यले पुनः फिल्म निर्देशनको जिम्मेवारी लिएका छन् । आयुष्मानले हालैमात्र फिल्ममा सहकार्यको सम्झौता गरेका छन् । आयुष्मानलाई यो फिल्ममा अनुबन्ध गर्नुको कारण यो हो कि उनी पनि सौरव गांगुली जस्तै बायाँ हाते ब्याट्समेन हुन् ।

निर्माताहरुले यो वर्षको दोस्रो ६ महिनामा सुटिङ गर्ने योजना बनाएका छन् । यसअघि आयुष्मानले क्रिकेट खेल्न र सौरवको शैली सिक्नका लागि तालिम लिनेछन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १० : ०३ बजे