Logo

Breaking News 1

युवाहरुलाई श्रम बजारमा बिक्ने बनाउन स्वरोजगार तालिम



रामेछाप । सामुदायिक विकास समाज (सीडीएस)ले रामेछापको खाँडादेवी गाउँपालिकामा युवालाई सिप सिकाउने, बजारमा बिकाउने र सकेसम्म गाउँमा नै टिकाउने अभियान सुरु गरेको छ ।

समाजले गाउँपालिकाका युवालाई स्वरोजगार बनाई श्रम बजारमा बिक्ने बनाउन स्वरोजगार मूलक तालिम सञ्चालन गरिरहेको सीडीएसका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले बताए ।

गाउँपालिकासँगको समन्वय तथा विभिन्न साझेदार संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा सीडीएसले गाउँपालिकाका युवालाई प्राविधिक तथा व्यावसायिक सिप सिकाइरहेको उनले बताए ।

संस्थाले कम्प्युटर, मोटरसाइकल मर्मत, हाते ट्याक्टर मर्मत, सिलाई, ब्युष्टिसियन, विभिन्न जातका तरकारी खेती लागायता तालिम स्थानीय युवालाई प्रदान गरिहरेको संस्थाका फिल्ड कोअर्डिनेटर सुकराम घिसिङले जानकारी दिए ।

‘युवालाई सिप सिकाउने र श्रम बजारमा बिकाउने र सकेसम्म उद्यम गर्न चाहन्छ भने गाउँमा नै टिकाउने कार्यक्रम हामीले सुरु गरेका हौँ’, घिसिङले भने ।

यसरी सिप सिकेका मानिसले गाउँमा नै बसेर पैसा कमाउने, घर परिवारमा नै रमाउने र गाउँमा नै केही जमाउने छन् भन्ने विश्वासका साथ खाँडादेवी र सुनापति गाउँपालिकामा यो कार्यक्रम सञ्चालन भइरहेको घिसिङले जानकारी दिए । कार्यक्रम चाँडै मन्थली नगरपालिकामा पनि विस्तार हुने उनले बताए ।

सामुदायिक विकास समाजलाई प्राविधिक सहयोग गर्दै आएको चाइल्ड एड नेटवर्क जर्मनीको तर्फबाट रामेछापमा कार्यक्रम हेरिरहेका अभिषेक थापा स्थानीयलाई प्राविधिक ज्ञान सिकाएर व्यवसायी बनाउनु कार्यक्रमको मुख्य लक्ष भएको बताउँछन् ।

सो संस्थाले सन् २०२५ सम्म सो कार्यक्रमको लागि सहयोग गर्ने उनले जानकारी दिए । सो कार्यक्रम अन्तर्गत एक हजार जना स्थानीय किसानलाई विभिन्न तालिम र काम गर्नको लागि आवश्यक सहयोग गर्ने उनले बताए ।

‘हामी गाउँमा नै बसेर केही गर्न सकिन्छ, व्यवसाय गरेर कमाउन सकिन्छ भन्ने सन्देश दिन चाहन्छौँ’, उनले भने ।

अब हरेक क्षेत्रलाई व्यवसायीकरण नगरी जीवन गुजारा चलाउन नसकिने भएकोले त्यसमा केन्द्रित भएर कार्यक्रम सञ्चालन हुनु पर्ने खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउँछन् । यस्ता कार्यक्रमले युवा र किसानलाई व्यावसायिक बन्न सहयोग पुग्ने उनको विश्वास छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ११ : २१ बजे