विराटनगर । विभिन्न किसिमका हिंसाहरुबाट बच्नका लागि किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिन थालिएको छ ।
विराटनगर महानगरपालिकाको आयोजनामा तीन दिने किशोरी आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम सुरु भएको हो ।
विराटनगरलाई तीन खण्डमा विभाजन गरेर यस्तो प्रशिक्षण दिइने जनाइएको छ । महानगरेको उत्तरमा पोखरिया, मध्य क्षेत्रको आदर्श र दक्षिणी क्षेत्रको मिल्स माविलाई केन्द्र बनाएर तालिम दिइने महानगरकी शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्माले जानकारी दिइन् ।
तालिममा सामुदायिक, संस्थागत र धार्मिक ६० विद्यालयमा अध्ययनरत किशोरीहरु सहभागी छन् । ६ देखि १२ कक्षासम्म अध्ययनरत का १५५ जना किशोरीहरुको तालिममा सहभागिता छ ।
उनीहरुलाई मार्सल आर्टसका प्रशिक्षकसहित विषयविज्ञहरुले आत्मरक्षासम्बन्धी तालिम दिनेछन् । बालअधिकार, यौद्धजन्य हिंसा, हेपाई, तनाव, मार्सल आर्टसका विधिहरु सिकाइनेछ ।
तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेकी थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले आत्मरक्षा तालिम लिएपछि किशोरीहरुमा आत्मविश्वास बढ्नुका साथै यौनजन्य हिंसाबाट बच्न सकिने बताइन् । आत्मरक्षासम्बन्धी जानकारी भएमा आफूलाई परिआएको बेला त्यसलाई प्रयोगमा ल्याउन सकिने उनको भनाइ थियो ।
प्रतिक्रिया