Logo

Breaking News 1

निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोक्न थालेपछि रौतहमा विवाद



रौतहट । रौतहटमा एकपछि अर्कोलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोक्न थालेपछि जनप्रतिनिधिविच नै विवाद बढेको छ ।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन वृन्दावन नगरपालिकामा प्राविधिक, शिक्षा, स्वास्थ्यका कर्मचारीहरू निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएपछि विवादित बन्दै आएको हो ।

यो नगरपालिकामा २०७९ को स्थानीय तह निर्वाचन यता पाँच जना प्रमुख प्रशासकीय अधिकृत फेरिएको छ । संघीय मन्त्रालयले गत कात्तिक १ मा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि पालिकाको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह अधिकृतस्तर छैटौं तहका कर्मचारी रासनारायण पटेललाई जिम्मेवारी दिएको थियो ।

तर, त्यसअघि नै उपसचिव सुरेन्द्र प्रधानलाई पनि असोज २६ मा मन्त्रालयले जिम्मेवारी तोकेको खुलेपछि विवाद भएको हो । दुवै हाजिर भएपछि अहिले जनप्रतिनिधि र कर्मचारी अन्योलमा रहेका छन् । गरुडा नगरपालिकामा एक वर्षमा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएको छ । चन्द्रपुर, इशनाथ, फतुवा विजयपुर, गुजरा सहितका बाहेक अन्यमा निमित्तले अधिकृतको काम गरिरहेको बताइएको छ । गत बर्षको फागुन १६ मा सरुवा गरेर पठाएका प्रशासकीय अधिकृतलाई रौतहटकका तीन स्थानीय तह गढीमाई, गौर र कटहरिया नगरपालिकामा हाजिर हुन दिएको छैन्  भने यी पालिकामा मन्त्रालयले पनि निमित्तको जिम्मेवारीमा अधिकृतको काम गर्न लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जथाभावी सरुवा र निमित्तको जिम्मेवारी तोक्न थालेपछि स्थानीय तह र मन्त्रालयबीच द्वन्द्व बढेको हो । यस्तै, संघीय मन्त्रालयका प्रशासन शाखाका उपसचिव भोजराज घिमिरेले रौतहटका स्थानीय तहभित्रको अन्तरद्वन्द्वले समस्या निम्त्याएको  बताए । उनका अनुसार खासगरी रौतहटमा बढी भद्रगोल देखिएको छ । यस्तै, रौतहटका १८ वटा पालिकामध्ये १४ वटामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा काम गरिरहेको बताए ।

यस्तै, रौतहट जिल्ला मधेश प्रदेशको सबैभन्दा धेरै निमित्तबाटै आर्थिक कारोबार सञ्चालन गर्ने जिल्लाका रुपमा रहेको  मन्त्रालयले जनाएको छ । यसैबिच रौतहट क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले संघीय मन्त्रालयले निमित्तको जिम्मेवारी दिँदा निकै समस्या आएको बताए । मन्त्रालयले विवादित कर्मचारीलाई जिम्मेवारी दिन नहुने उनको तर्क छ । प्रमुख प्रशासकीय अधिकृत साता र महिना दिनमै फेर्न थालेपछि रौतहटका स्थानीय तहमा बेथिति बढ्दै गएको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १२ : ३९ बजे