Logo

Breaking News 1

सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसकेको ओलीकाे आरोप



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगाएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्राअन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुआत गरेको बताए ।

टोखा–छहरे सुरुङमार्गसहित रेलमार्गका विषयमा एमाले नेतृत्वको सरकारले छलफल सुरु गरे पनि अहिले विलम्ब भएको उनले उल्लेख गरे । एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिलासुस्ती हुनु स्वाभाविक भएको उनको भनाइ थियो ।

उनले नेपाल स्वाधीन स्वतन्त्र देश भएकाले आफैँले त्यसको सम्मान गर्नसक्नुपर्नेमा जोड दिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि विमान उडाउन सरकार डराइरहेको टिप्पणी उनले गरे ।

ओलीले नेपालको हितका निम्ति छिमेकी जुनसुकै राष्ट्रले गर्ने सहयोग लिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  २ : ४० बजे