Logo

Breaking News 1

यो सरकारले पोखरा र भैरहवाबाट किन प्लेन उडाउँदैन ? : अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र भैरहवामा बनाएको विमानस्थलबाट अहिलेको लुते सरकारले प्लेन किन नउडाएको भनेर प्रश्न गरेका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले सरकारलाई आफूले यस्तो प्रश्न गरेका हुन् । त्यसक्रममा ओलीले आफूले बोलेको कुरालाई लिएर पत्रपत्रिकाले ओलीको अत्यन्तै गम्भीर टिप्पणी भनेर प्रश्न गरेको भन्दै आक्रोश व्यक्त गरे । ‘मैले बोल्दै नबोलेको कुरालाई लिएर चीनसँग निकटता राख्यो भने अप्ठेरो पारिहाल्छन् भनेर भने, के हो यो ? यस्तो भन्न पाइन्छ ? चीनसँग निकटता राख्न पाइन्छ र ? भनेर छाती पिटीपिटी रोइकराई गरेछन्’, ओलीले भने, हामीले हाम्रो सार्वभौम सत्ताको आफैले सम्मान गर्न सकेनौ र उभिन चाहेनौ भने कसले उभिने ?’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पोखरामा विमानस्थल बनाए पनि अहिलेको लुते सरकारले किन प्लेन उडाउँदैन ? भनेर प्रश्न गरे । ‘किन प्लेन नउडाएको ? मेरो आपत्ति यो हो । हामीले भैरहवामा एयरपोर्ट बनायौ । किन उडाउँदैन ?’, प्रश्न गर्दै उनले भने, ‘चिनियाँ ठेकदार कम्पनीले सस्तोमा ठेक्का पार्‍यो उसले ठेक्का पारेकाले उडान हुन दिन्नँ कसैले भन्छ भने त्यो कुरा नेपालले मान्ने ?’

उनले जसले सस्तोमा बनाउँछु भन्छ त्यसलाई बनाउन दिनुपर्ने भन्दै जसले सस्तोमा सामान दिन्छ त्यसैको सामान किन्नुपर्ने पनि बताए । ‘जसले हाम्रो सामान महँगोमा किन्छ त्यसैलाई हामीले बेच्नुपर्छ । अरूको राष्ट्रिय हितलाई अप्ठेरो नपारी हामी आफ्नो राष्ट्रिय हितको रक्षा र सम्वद्धर्न गर्छौ । यो कुरा भन्दा आपत्ति भयो’, ओलीले भने, ‘हाम्रो सम्बन्ध भारत, चीन अमेरिका, बेलायत सवैसँग राम्रो छ ।’

उनले नेपाल विकास गर्नुपर्ने भएकाले फलानाको सहयोग लिँदैनौ भन्न नहुने भन्दै हामीलाई चाहिए जति पैसा कुनै एक देशले दिएपनि लिने र विकास गर्ने बताए । उनले सरकारकै कमजोरीका कारण विकास निर्माण अघि नबढेको पनि बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १२ : १५ बजे