Logo

Breaking News 1

राजेन्द्र महतोले लोसपाकाे केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने भएका छन् । आजदेखि बस्न लागेको केन्द्रीय समिति बैठक महतोले बहिष्कार गर्ने भएका हुन् । असोज ८ गते सो पार्टीको ३११ सदस्यीय केन्द्रीय समितिको नामावली सार्वजनिक गरेपछि यो पहिलो बैठक हो ।

पदाधिकारीसहित सार्वजनिक केन्द्रीय समितिप्रति वरिष्ठ नेता महतो असन्तुष्ट थिए । मधेश आन्दोलन तथा पार्टीमा योगदान दिएका थुप्रै नेताहरुलाई केन्द्रीय समितिमा नराखेको भन्दै नेता महतोले असन्तुष्टि जनाउँदै आएका थिए । खासगरी महतो निकटका थुप्रै नेताहरु केन्द्रीय समितिमा परेका छैनन् । उनले बैठकमा सो विषयमा पनि कुरा उठाएका थिए ।

असोज १६ गते बसेको लोसपाको पदाधिकारी बैठकमा अध्यक्ष महन्थ ठाकुरले पदाधिकारी हेरफेर गर्ने, केन्द्रीय समितिमा मान्छे थप्ने, भएका त्रुटीहरु सुधार गर्ने प्रतिवद्धता जनाएका थिए । ‘तर बैठक सकिएको दुई महिनाभन्दा बढी भइसकेको र ती मागप्रति कुनै सुनुवाई नभएका कारण आफू बैठकमा नजाने निष्कर्षमा पुगेका नेता महतोले बताए । उनले भने, ‘त्यस्तो बैठकमा किन जाने जहाँ कुरा मात्र हुन्छ, एजेण्डा मात्र प्रस्तुत हुन्छ तर त्यो कार्यान्वयन हुँदैन छलफलका लागि मात्र बैठक बस्ने होइन, बैठकमा भएका निर्णयहरु कार्यान्वयन गर्ने हो तर त्यस्तो देखिएको छैन ।’

पदाधिकारी बैठकमा पार्टीका अध्यक्ष ठाकुर स्वयम्ले प्रतिवद्धता गरेका कुराहरु लागु नगरेका कारण बैठक बहिष्कार गरेको उनले बताए । २०७८ भदौमा गठन भएको लोसपामा लामो रस्साकसीपछि गत असोजमा बल्ल केन्द्रीय समितिले नाम सार्वजनिक गरेको थियो । पार्टी गठन भएको दुई वर्षपछि केन्द्रीय समितिको नाम सार्वजनिक भएको हो ।

२०७४ को चुनावमा प्रतिनिधिसभातर्फ १७ सिट ल्याएर तेस्रो शक्ति बनेको महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीले २०७९ को चुनाव लोसपाबाट लडेको थियो । त्यसबेला सो पार्टीले थ्रेसहोल्ड पनि कटाउन सकेको थिएन । उनले चुनावअघि उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी बनाएका थिए ।

तर त्यो पार्टी एक वर्षसम्म पनि टिक्न सकेन र विभाजन भएर लोसपा बन्यो । लोसपाले २०७९ मा भाग लिँदा प्रतिनिधि सभातर्फ ४ सिटमा सीमित भयो । मधेश प्रदेशमा ९ र लुम्बनी प्रदेशमा ३ सिट मात्र ल्याउन सकेको लोसपाले स्थानीय तहको चुनावमा चार पालिका प्रमुख मात्र जित्यो । जब कि २०७४ को स्थानीय चुनावमा २६ वटा पालिका प्रमुख जितेको थियो ।

लोसपामा नेता तथा कार्यकर्ता नभएको होइन । विभिन्न आन्दोलनलाई नेतृत्व गरेका, पटक पटक मन्त्री बनेका, सांसद बनेका नेताहरु लोसपामा छन् तर ती सबै निस्कृय छन् । पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी अहिले श्रममन्त्री छन् । राजेन्द्र महतो र अनिल झा पार्टीका वरिष्ठ नेता हुन् । उनीहरु पनि निस्कृय भएर बसेका छन् ।

लोसपाको ३११ सदस्यीय केन्द्रीय समितिमा ६३ जना पदाधिकारी छन् तर अहिले सबैजना निस्कृय छन् । ६ जना वरिष्ठ उपाध्यक्ष र १५ जना उपध्यक्ष छन् । त्यस्तै १६ जना महासचिव छन् । त्यस्तै आठ जना सहमहासचिव, ११ जना सचिव, एक जना प्रवक्ता र एक जना सह–कोषाध्यक्ष रहेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ११ : १७ बजे