Logo

Breaking News 1

प्रदूषण बढेसँगै काठमाडौंको वायु अस्वस्थकर



काठमाडौं । प्रदूषण बढेसँगै काठमाडौंको वायु अस्वस्थकर बनेको छ । काठमाडौं उपत्यकाका अधिकांश स्थानको वायुमा प्रदूषणको मात्रा १५० एक्यूआई (वायुको गुणस्तर सूचकांक) भन्दा माथि पुगेको छ ।

वातावरण विभागको वायुको गाुणस्तर सूचक यन्त्रमा बुधबार कीर्तिपुर सबैभन्दा प्रदूषित देखिएको छ । आज अपराह्न १२ बजे रेकर्ड भएको तथ्यांकअनुसार कीर्तिपुरमा प्रदूषणको मात्रा १७५ एक्यूआई पुगेको छ ।

खुमलटारमा १७३, पुलचोकमा १६८, शंखपार्कमा १६५, भैँसेपाटीमा १६४ र रत्नपार्कमा १५८ एक्यूआई देखिएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई जति बढ्दै गयो त्यति घातक हुन्छ ।

एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

यस्ता कणहरू श्वासप्रश्वासको माध्यमबाट सजिलै भित्र छिर्ने, जम्मा भएर बसिरहने र रगतको माध्यमबाट सबै अंगमा फैलिने भएकाले घातक हुने विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  १ : १० बजे