Logo

Breaking News 1

चार महिनामा साढे ५७ अर्ब सार्वजनिक ऋण थपियो



काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा ५७ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँबराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म आइपुग्दा २३ खर्ब ५७ अर्ब ६ करोड नाघेको हो ।

कार्यालयको गएको कात्तिक मसान्तसम्मको तथ्यांकानुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

चालु आवको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवाब्याज भुक्तानीमा १६ अर्ब १८ करोड ६१ लाख रुपैयाँबराबर भुक्तानी गरेको देखिएको छ ।

यही अवधिको ऋण प्राप्तिको अवस्था हेर्दा साउनदेखि कात्तिक मसान्तसम्ममा ९७ अर्ब ३१ करोडबराबर आन्तरिक ऋण र १५ अर्ब ८५ करोड ३० लाख बाह्य ऋण गरी कुल एक खर्ब १३ अर्ब १६ करोड ३० लाख रुपैयाँबराबर ऋण उठाइएको छ ।

चालु आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ ।

गएको कात्तिक मसान्तसम्ममा सरकारले २९ अर्ब ९८ करोड ९४ लाखबराबर पुँजीगत खर्च गरेको छ । यही अवधिमा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा भने ८१ अर्ब ६४ करोड ४४ लाख रुपैयाँबराबर खर्च गरिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ३ : ४९ बजे