Logo

मुख्य समाचार

पेरिस सम्झौता कार्यान्वयनमा ढिलाइ गर्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड



दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) का अवसरमा शनिबार उनले हिमालका मुद्दा सम्बन्धमा आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा सो कुरा बताएका हुन् ।

उनले यो सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोषको सहयोग समतामूलक रूपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनुपर्नेमा जोड दिए ।

सबै मिलेर मात्र यो मुद्दा सम्बोधनका निम्ति प्रयास गर्न सकिनेमा उनको जोड थियो । कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिलाइ गरे यसबाट अपूरणीय क्षति हुने बताए । जिम्मेवार मुलुक र निकायले छिटोभन्दा छिटो यो विषय सम्बोधन गर्न लाग्नुपर्नेमा उनले जोड दिए ।

“मैले आफैँले हिमालमा जलवायु परिवर्तनको असर हेरेर आएको छु, अब यसमा ढिला भइसक्यो । सम्बोधन गर्न सबै लाग्नुपर्छ,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले आयोजना गरेको कार्यक्रममा महासचिव, एन्डोराका प्रधानमन्त्री, कीर्गिस्तानका मन्त्री, भुटानका प्रतिनिधिमण्डलका प्रमुख, विभिन्न निकायका उच्च अधिकारी, वैज्ञानिकलगायत अधिकारीले पेरिस सम्झौता कार्यान्वयनमा जोड दिएका थिए । यही मंसिर १४ गतेदेखि सुरु भएको कोप–२८ सम्मेलन मंसिर २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख)सम्म चल्नेछ ।

पेरिस सम्झौताअनुसार विश्व समुदायले यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमति गरे पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १.८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुईतिहाइ हिमभण्डारहरू पग्लने अनुमान अध्ययनमार्फत गरिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ३ : ०७ बजे