Logo

विश्व

चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुग्याे


३० कार्तिक २०८०, बिहिबार  

69
Shares

बेइजिङ। चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । 

उत्तरी चीनको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

शान्सी प्रान्तको लुलियाङ शहरमा रहेको चार तले भवनमा स्थानीय समय अनुसार बिहान करिब ७ बजे आगलागी भएको थियो । योङ्जु कोइला उद्योग संयुक्त भवनबाट निकालिएका दर्जनौंमध्ये ६३ जनालाई अस्पताल लगिएको थियो।

सरकारी सञ्चालित बेइजिङ युथ डेलीले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा पोष्ट गरेको भिडियोमा भवनबाट आगो र बाक्लो धुवाँ निस्किरहेको देखाइएको छ। यो देशकै सबैभन्दा धेरै कोइला उत्पादन गर्ने प्रान्तमा आगलागी भएको हो ।

सरकारी सञ्चारमाध्यमले यसअघि आगो नियन्त्रणमा आएको जानकारी दिएका थिए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रमुख उद्योगहरूमा लुकेका जोखिमहरू छानबिन गर्न निर्देशन दिएका छन्। एपेक शिखर सम्मेलनका लागि हाल सान फ्रान्सिस्कोमा रहेका राष्ट्रपति सीले अधिकारीहरूलाई जनताको जीवन, सम्पत्ति र सामाजिक स्थिरताको सुरक्षा गर्न पनि निर्देशन दिएको ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ।

गत अप्रिलमा राजधानी बेइजिङको एक अस्पतालमा भएको आगलागीमा २९ जनाको ज्यान गएपछि जनआक्रोश उत्पन्न भएको थियो र धेरैले घटनाबारे रिपोर्ट नगरिएको र बिरामीका आफन्तहरूलाई पहिले नै किन जानकारी नगरिएकोमा प्रश्न उठाएका थिए भने गत अक्टोबरमा पनि उत्तर पश्चिमी यिनचुआन प्रान्तको एक बारबेक्यू रेस्टुरेन्टमा भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ४ : २१ बजे