Logo

Breaking News 1

सङ्कटमा पर्दै जोगीको पुर्ख्यौली पेसा


१६ कार्तिक २०८०, बिहिबार  

138
Shares

मन्थली। कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हुन् । यिनै दुई महिना फेरी लगाएर सङ्कलन गरिएको सिदा र भेटीले वर्षदिन खानुपर्ने बाध्यता फेरी लगाउने जोगिहरुलाई छ ।

दुई महिनाको काम गराइले आफू र परिवार पाल्नुपर्ने भए पनि पछिल्लो समयमा आएर आफूहरुको पेसा सङ्कटमा पर्दै जान लागेपछि उनीहरु चिन्तित बनेका छन् ।

युवा पुस्तामा यो पेसाप्रति आकर्षण नभएपछि पेसा नै सङ्कटमा पर्ने सम्भावना बढदै गएको जोगीहरुको भनाइ छ । आफूहरु बुढो हुँदै जानु र युवा पुस्ता (छोरा,नाति)मा यस पेसाप्रतिको आकर्षण नहुँदा यो पेसा सङ्कटमा पर्नाका मुख्य कारण रहेको दोलखा, मेलुङका रुद्रध्वज जोगीले बताए ।

परम्परागत पेसा जोगाउनकै लागि भए पनि आफू बुबासँगै घर घर हिँडे पनि यो माग्ने पेसा आफूलाई झन्झट लागेको दोलखा मेलुङका युवा दीपक जोगीले बताए । यो पेसा संरक्षणका लागि राज्यबाट पनि केही सहयोग प्राप्त भए पेसालाई जोगाउन सकिने उनको भनाइ थियो ।

रामेछाप नगरपालिका हिमगङ्गाका मीनबहादर जोगीले भने, “हाम्रा बुवा हजुरबुवाले यही पेसा गरे र हामीले पनि गरिरहेका छौं तर अब पढेलेखेका छोरा सहरमा जागिर खान जाने भएकाले उनीहरुले यो पेसा गर्ने अवस्था छैन त्यसैले अब हाम्रो पेसा लोप हुने अवस्था छ । न हामीलाई राज्यबाट सहयोग छ नत अरुबाट हामीलाई सहयोग नै छ । फेरी लगाएको दिन बिहानभरी घर–घर घुम्दा झर्को नमानी सिदा दक्षिणा दिन्छन् ।” तर हाम्रो शेष पाछि भने हामीले लगाउने गरेको फेरी लोप होलाजस्तो छ ।

कार्तिक र चैत्र महिनामा रातको १२ बजे पछिदेखि घर घरमा गई विभिन्न मत्रोच्चारण गरेर बराठको सिङ बजाएर फेरी लगाउने र सिदा सङ्कलन गर्ने कार्य उनीहरुले गर्दछन् ।

बिशेषगरी घर परिक्रमा गरेर मन्त्रोचारणका साथ घरका चार सुरमा चार पटक फेरी लगाउदा, घरमा भुत, प्रेत पिचास नलाग्ने र डाइनी वोक्सीले पनि दुख नदिने परम्परागत मान्यता छ । कसै कसैले राति घर वा कोठा भित्रै बोलाएर पनि फेरी लगाउन लाउने गर्दछन् । उनीहरु रातभर फेरी लगाउने र बिहानभर जय गोरखनाथ भन्दै राती फेरी लगाएको घर घरमा पुगेर सिदा सङ्कलन गर्ने गर्दछन् ।

सिदाका सबै सामानहरु सङ्कलन गरेर थैलो थैलेमा हाल्छन् र एउटा टोल वा गाँउ सकिएपछि प्राप्त भएको सिदाका सामानहरु घर लैजाने गर्दछन् ।

जिल्लाको रामेछाप नगरपालिका र लिखु तामाकोशी गँँउपालिकामा गरी करिव एक सय को संख्यामा उनीहरुको बसोवास रहेको छ भने दोलखाको मेलुङ गाउँपालिकामा पचास जनाको सङ्ख्यामा जोगीहरुको बासोवास रहेको बताइएको छ । मन्थली र आसपासका क्षेत्रहरुमा भने पहिलेदेखि नै दोलखाको मेलुङका जोगीहरुले फेरी लगाउदै आइरहेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १ : १६ बजे