Logo

खेलकुद

मेसीले आठौं पटक जिते बालन डी’अर, हाल्यान्ड दोस्रो एमबाप्पे तेस्रो


१४ कार्तिक २०८०, मंगलबार  

69
Shares

काठमाडौं। फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने बालोन डी’अर अर्जेन्टिनी कप्तान लियोनल मेसीले आठौं पटक जितेका छन् । मंगलबार पेरिसमा आयोजित अवार्ड घोषणा समारोहबाट मेसी विजेता चुनिएका हुन् । हरेक वर्ष प्रदान गरिने यो अवार्ड वर्षको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ ।

गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि मेसीकै कप्तानीमा अर्जेन्टिनाले जितेको थियो । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाउन मेसी प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिएका थिए । उनले विश्वकपमा कुल सात गोल गरेका थिए ।

मंगलबार मेसीले म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हाल्यान्ड र फ्रान्सका काइलियन एमबाप्पेलाई पछि पारे । हाल्यान्डले दोस्रो स्थान पाउँदा पेरिस सेन्ट जर्मन (पीएसजी) का एमबाप्पे तेस्रो भए ।

मेसीले यसअघि सन् २००९ देखि २०१२ सम्म लगातार चार पटक बालोन डी’अर जितेका थिए । यस्तै, सन् २०१५, २०१९ र २०२१ मा यो अवार्ड जितेका थिए ।

मंगलबार भएको समारोहबाट स्पेनकी आईताना बोनमती महिला बालोन डी’अर विजेता चुनिइन् । कोपा ट्रफी इङ्ल्यान्डका युवा फरवार्ड जुड बेलिङ्घमले, याचिन ट्रफी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले र गर्ड मुलर अवार्ड हाल्यान्डले पाए ।

वर्षको उत्कृष्ट महिला क्लब बार्सिलोना चुनिदा पुरुषमा यो अवार्ड म्यानचेस्टर सिटीले पायो ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ११ : ०७ बजे